पुरानो शंख चोरिएपछि भक्तजनलाई छाब्दी मन्दिर प्रवेशमा रोक
तनहूँको धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएपछि भक्तजनलाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको छ ।
सदरमुकाम दमौलीबाट करीब आठ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति शंख चोरी भएको हो । त्यसपछि छाब्दी सुधार समितिको शनिबार बसेको आकस्मिक बैठकले भक्तजनलाई मन्दिर प्रवेश गर्न रोक लगाउने निर्णय गरेको छ ।
समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए । छाब्दी क्षेत्रमा रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुल गर्न पनि रोक लगाइएको छ ।
मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । शंख चोरी गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही दिनदेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए ।
चोरीका घटना रोक्न स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइएको व्यास–१४ का वडाध्यक्ष काजीराम श्रेष्ठले बताए । तोकिएको समयअवधिमा अनावश्यक हिँडडुल गरेमा कानूनअनुसार कारवाही गरिने निर्णय भएको उनले जानकारी दिए ।