बारा र सर्लाहीमा पसे सलह
दक्षिण अफ्रिका हुँदै केही महीना अघि भारत भित्रिएका सलह नेपालको मध्यतराईका बारा र सर्लाही जिल्लामा देखिएका छन्।
प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख एवम् कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले सलह देखापरेको भनिएका बारा र सर्लाहीमा अध्ययन भइरहेको बताए । “साथीहरुले सलह आएको फोटो पठाउनुभएको छ । फिल्डबाट आएको सूचना संकलन गर्दैछौँ । कति संख्यामा आएको छ भनेर अध्ययन गर्दै छौं,” हुमागाईंले भने।
यही विषयमा छलफल गर्न १ बजे प्राविधिक कार्यदलको बैठक बोलाएको उनले जानकारी दिए । सलहको क्षति कम गराउन गरिने प्रयासबारे बैठकमा छलफल हुनेछ।
सलहका धेरै प्रजाति हुने भएकाले बारा र सर्लाहीमा देखिएको सलह कुन प्रजातिको सलह हो भन्ने पहिचान नभएको हुमागाईले बताए । दक्षिण अफ्रिका, पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलह भने मरुभूमि प्रजातिको हो।
सलहले गर्ने क्षति त्यसको संख्या र आकारमा भर पर्ने हुमागाईले बताए । भारतको राजस्थानमा देखिएको सलहको प्रजाति बथान फुटेर हावाको बेगसँगै नेपाल आएको हुनसक्ने कृषि प्राविधिकहरुले अनुमान छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक महीना अघि नेपालमा सलह भित्रिने सम्भावनाको अन्त्य भएको घोषणा गरेको थियो।