किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य ब्याङ्कका प्रबन्धक पक्राउ
सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य ब्याङ्क त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
रु.१ करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।
जग्गाधनी प्रमाणपत्र, ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप तथा प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर ब्याङ्कबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ २७ जेठमा पक्राउ परेका थिए ।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । ब्याङ्कका अरु कर्मचारीसँग पनि बयान लिइरहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।
रु.२५ लाखभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा रु.१ करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि ब्याङ्किङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।