बाघको आक्रमणमा आँखा गुमाएका भदै थारुः जो बाघकै संरक्षणमा जुटिरहेछन्
२०६० सालमा पाटे बाघको आक्रमणमा परी एउटा आँखा गुमाएका बर्दियाको गौरी महिला मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भदै थारुले वन पैदावारसँगै बाघ संरक्षणमा आफूलाई केन्द्रित गरेका छन्।
हुनलाई भदै थारु (५१) जिम्मेवारीका हिसाबले एक सामुदायिक वनका अध्यक्ष मात्र हुन् । तर, नेपालको वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा उनको विशेष नाम छ।
यो चिनारी बन्नुमा संरक्षण कर्ममा निरन्तर गरेको योगदानको त भूमिका छ नै, त्योभन्दा पनि निकै चहर्याउने विगत गाँसिएको छ।
भदै ती व्यक्ति हुन्, जो बाघको मुखबाट जेनतेन उम्किएर बचेका थिए । भविष्यमा बाघकै संरक्षणमा लागिएला भनेर उनले कल्पना पनि गरेका थिएनन्।
तर, कुनै वेला आफूलाई आक्रमण गर्ने बाघ मार्छु भनेर सोच्ने उनले यो जनावरलाई त संरक्षण पो गर्नुपर्ने रहेछ भनेर अरूहरूलाई पनि सम्झाउने–बुझाउने गरेका छन्।
कहाली लाग्ने त्यो घटना
बर्दियाको मधुवन नगरपालिका–२ का हुन्, भदै । २२ पुस २०६० को त्यो घटना उनको जीवनमा सपना जस्तै बनेर आइदियो, तर सपना झैं झट्टै बिर्सिन खालको थिएन । बरु गहिरो घाउ छाडेर गयो।
गौरी महिला मध्यवर्ती सामुदायिक वनले उपभोक्ताका लागि खर काट्न खुला गरेको थियो । वनका अध्यक्ष रहेका उनी पूर्जी काट्ने, खर कटानको सीमा देखाउने जिम्मेवारीसहित करीब डेढ सय उपभोक्ताका साथ वनक्षेत्रमा थिए। यो ठाउँ बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट बीचको जैविक मार्गमा पर्छ।
त्यही दिनको एउटा घटनाले उनलाई जीवनभर अपाङ्ग बनायो। घटना हो, उनीमाथि पाटे बाघले गरेको आक्रमण।
दिउँसोको करीब १ बजेको थियो । खर कटानको निरीक्षणका क्रममा भदै १५/१६ जनाको अगाडि हिंडिरहेका थिए। एक्कासी बाघसँग जम्काभेट भयो।
“बाघले एकाएक झम्टिंदा अरु भागे, मलाई भाग्ने मौका नै मिलेन”, १६ वर्ष अघिको घटना सम्झंदै भदै भन्छन् “पहिलो पञ्जाले आँखैमा हान्यो र आँखा निकाल्दियो । म घोप्टो परें।”
त्यसपछि बाघले अगाडिको खुट्टाले उनलाई कुल्चियो । अनी बेहोश भएँ । “केहीबेरमा होश आउने बित्तिकै बायाँ हातले मुक्का हानें, त्यसपछि बाघ झाडीतिर गयो”, उनले सुनाए।
सामुन्नेमै बाघ आएर भागेका मानिसहरूले बाघले भदैलाई मार्यो भन्ठानेका थिए । तर, उनी रन्थनिंदै बगर भएको ठाउँतिर गए । बचाउका लागि जोडले गुहार मागे । एक जनाले बाँधेको पटुका काटेर रक्ताम्य आँखा बाँधिदिए।
सामुन्नेमै बाघ आएर भागेका मानिसहरूले बाघले भदैलाई मार्यो भन्ठानेका थिए । तर, उनी रन्थनिंदै बगर भएको ठाउँतिर गए । बचाउका लागि जोडले गुहार मागे । एक जनाले बाँधेको पटुका काटेर रक्ताम्य आँखा बाँधिदिए।
उनलाई एम्बुलेन्स मार्फत नेपालगञ्ज पुर्याइयो । करीब एक महीना लामो उपचारपछि उनी घर फर्किए। त्यो घटनापछि उनलाई एक्लै जंगल जान डर लाग्छ । वनपालेको साथमा मात्र जान्छन्।
गुमेको आँखा, बदलिएको बाटो
बाघको आक्रमणपछि भदै थारुले एउटा आँखा गुमाए । तर, त्यो घटनाले उनको जिन्दगीको बाटो नै बदलियो।
आँखा गुमाउनुपरेकोमा उनलाई बाघप्रति एकदमै ठूलो रिस थियो । अस्पतालमा बसुन्जेल आक्रमण गर्ने बाघलाई जसरी पनि मार्छु भन्ने लाग्थ्यो । “मैले के बिगारेको थिएँ र मेरो आँखा गयो, जसरी पनि बाघलाई मार्छु भन्ने लाग्थ्यो”, उनी भन्छन्।
तर, घाउ सञ्चो हुँदै जाँदा त्यो झोंक सेलाउँदै गयो । त्यति मात्र कहाँ हो र, समयक्रममा उनी बाघ मार्ने होइन, संरक्षण गर्ने कुरा गर्न थाले।
उनले बाघको बासस्थानमा दखल पुगेको, लोप हुँदै गएको र मानिसबाट हमला हुने डरले नै बाघले आफूलाई आक्रमण गरेको जस्ता विषय मनन गर्दै गए । जसका कारण यो प्राणीलाई संरक्षण गर्नुपर्ने विचारमा उनी दृढसंकल्पित भए।
त्यसपछि त उनले बाघ मार्नेलाई नै सम्झाउन थाले । वन्यजन्तुको संरक्षणका लागि अभियान नै सञ्चालन गरे । विभिन्न ठाउँमा पुगेर संरक्षणका लागि प्रशिक्षण दिने, गीत बनाउने र नाटक देखाउने काम गरेको उनी बताउँछन्।
सन् २०१० मा विख्यात हलिउड अभिनेता तथा संरक्षण अभियन्ता लियोनार्दो डिक्याप्रियो र बेलायती अभिनेत्री पौलिन कलिन्स नेपाल आउँदा भदैलाई भेट्न बर्दियास्थित घरमै पुगेका थिए।
“बाघकोे आक्रमणपछि नै मैले बाघलाई चिनें, त्यो अवस्थामा नपुगेको भए सायद संरक्षणमा लाग्ने थिइनँ”, भदै भन्छन्। अपांग हुँदाको व्यथालाई संरक्षणमा योगदान गर्न पाउँदाको सन्तुष्टि र विभिन्न ठाउँबाट पाएको सम्मानले जितेको उनको भनाइ छ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा योगदान पुर्याउनेलाई दिने अब्राहम संरक्षण पुरस्कार भदैले २०६१ सालमा पाएका थिए। संरक्षण सम्बन्धी नेपालका सबै पुरस्कार प्राप्त गरिसकेको उनी बताउँछन्।
सन् २०१० मा विख्यात हलिउड अभिनेता तथा संरक्षण अभियन्ता लियोनार्दो डिक्याप्रियो र बेलायती अभिनेत्री पौलिन कलिन्स नेपाल आउँदा भदैलाई भेट्न बर्दियास्थित घरमै पुगेका थिए। लियोनार्दोले उनलाई आफूले लगाएको चश्मा उपहार दिएका थिए, जुन उनले जतन गरेर राखेका छन्।
चुनौती र धोको
वन संरक्षणमा भदै थारुको समर्पणप्रति स्थानीय समुदायको विश्वास कस्तो छ भने, उनी बर्दियाको गौरी महिला मध्यवर्ती सामुदायिक वनको अध्यक्ष १७ वर्षदेखि निरन्तर छन्।
उनले यो पद छोड्न पटकपटक प्रयास गरे, नेतृत्वका लागि अरुलाई प्रस्ताव पनि गरे । तर, वनका उपभोक्ताहरूले उनलाई कुनै हालतमा जिम्मेवारीबाट अलग्गिन दिएनन् । “अध्यक्षबाट विदा हुन खोजे पनि सबैको जोडबलले जिम्मेवारीमै छु, सकेको काम गरिरहेको छु”, उनी भन्छन्।
“एउटा आँखा बाघले लुछिदियो, अझै बाघ बचाउने कुरा गर्छस्, यही गोलीले ढल्छस् भन्दै हातमा गोली देखाएर तस्करले चेतावनी दिन्थे”, भदै भन्छन्। तर, बाघको पञ्जाबाट बचेर संरक्षणमा एकोहोरिएका उनी धम्कीहरूबाट डराएनन्।
संरक्षण अभियानमा लाग्दा उनलाई चुनौती नआएका होइनन् । वन र वन्यजन्तु जोगाउने संरक्षणका कुरा गर्दै गाउँगाउँ पुग्न थालेपछि उनले ज्यान नै लिनेसम्मका धाकधम्की सुन्नुप¥यो । तस्करहरूले ठाडै भन्थे– धेरै संरक्षणको कुरा नगर्, गोली खालास् !
“एउटा आँखा बाघले लुछिदियो, अझै बाघ बचाउने कुरा गर्छस्, यही गोलीले ढल्छस् भन्दै हातमा गोली देखाएर तस्करले चेतावनी दिन्थे”, भदै भन्छन्। तर, बाघको पञ्जाबाट बचेर संरक्षणमा एकोहोरिएका उनी धम्कीहरूबाट डराएनन्।
चोरी–तस्करीमा लाग्नेहरूलाई उनले सम्झाउने प्रयास गरे । चोरी शिकार नियन्त्रण कार्यदलमा समावेश गरे । “अहिले उनीहरूमध्ये धेरैजसो संरक्षणमा लागेका छन्”, आफ्नो प्रयास केही हदसम्म सफल भएकोमा उनी दंग पर्छन्।
चोरी–तस्करीमा लाग्नेहरूलाई उनले सम्झाउने प्रयास गरे । चोरी शिकार नियन्त्रण कार्यदलमा समावेश गरे । “अहिले उनीहरूमध्ये धेरैजसो संरक्षणमा लागेका छन्”, आफ्नो प्रयास केही हदसम्म सफल भएकोमा उनी दंग पर्छन्।
प्रकृति, वन्यजन्तुभन्दा पर भदैको कुनै सपना छैन । उनको एउटा धोको छ, विकसित देशहरुको संरक्षणको अवस्था अवलोकन गर्ने । “विकसित देशमा संरक्षणका कामहरु कसरी भइरहेका छन्, त्यसको अवलोकन गर्ने इच्छा छ”, उनी भन्छन्। यसका लागि उनले नेपालको संरक्षण क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासँग कुरा राखेका छन् । तर, उनको इच्छा सुनिएको छैन।