पर्यटकलाई भर्चुअल टुर, व्यवसायीको खर्च धान्ने प्रयास
महामारीका कारण तीन महीनाभन्दा बढी समयदेखि पर्यटन व्यवसाय ठप्प हुँदा बर्दियाको ठाकुरद्वारास्थित बर्दिया होमस्टेले भने गत साता विदेशी पर्यटकलाई नेपालको रोपाइँ, पाक शिक्षा र वन्यजन्तु देखाएको छ।
बर्दिया होमस्टेले नेपाल घुम्न रुचाउने पर्यटकलाई ‘भर्चुअल टुर’ गराएको छ । होमस्टे सञ्चालकद्वय बुद्धि दर्लामी र नेदरल्याण्डकी नागरिक सोनिया रस्टिक्सले बन्दाबन्दीको कारण नेपाल आउन नसकेका विदेशीलाई उनीहरूको माग अनुसार भर्चुअल टुर गराएका हुन्।
सोनिया र बुद्धिले ६ वर्षदेखि सोझेदारीमा होमस्टे सञ्चालन गर्दै आएका छन् । तर सरकारले ११ चैतमा बन्दाबन्दी घोषणा गर्नुअघिदेखि नै नेपालमा पर्यटन आवागमन प्रभावित भयो । बन्दाबन्दीपछि त पर्यटक आउन ठप्पै हुँदा होमस्टेमा चाबी लाग्यो।
अहिले बुद्धि र सोनियाले पर्यटकलाई प्रविधिबाट नेपालसँग जोडिरहने योजना ल्याएका छन् । पर्यटकहरूकै आग्रहमा भर्चुअल टुर सेवा थालिएको बुद्धि बताउँछन् । टुरमार्फत पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको अवलोकन गराइन्छ।
भर्चुअल टुर कार्यक्रमको सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरू उत्साहित भएका छन् । पर्यटकलाई ‘फार्मिङ्ग टुर’ अन्तर्गत विदेशीहरूलाई रोपाइँ, ब्याडबाट बीउ निकाल्ने, जोत्नेलगायत सम्पूर्ण दृश्य इन्टरनेटमार्फत ४० मिनेटसम्म देखाइएको थियो।
बुद्धि भन्छन्, “दुई वटा क्यामेराको सहायताले हामीले पर्यटकलाई फिल्डमै गएर यहाँको प्रत्यक्ष दृश्य देखाउँछौं । एक जनाले क्यामेराबाट खिचिन्छ भने अर्को जनाले पर्यटकहरूलाई गाइड गर्ने र उनीहरूको जिज्ञासा मेटाउने गर्छौं।”
त्यसैगरी अनलाइन मार्फत विदेशीलाई नेपाली खाना बनाउन सिकाउने र वन्यजन्तु देखाउने कार्यक्रम पनि भइसकेको छ । अब अर्को चरणको भर्चुअल टुरको तयारी भइरहेको उनी बताउँछन्।
होमस्टे सञ्चालिका सोनियाका अनुसार फार्मिङ्ग र वन्यजन्तु टुरका लगि प्रतिव्यक्ति ८.५० यूरो तोकिएको छ । ‘कुकिङ्ग क्लास’ का लागि १५ यूरो तिर्नुपर्छ।
यी कार्यक्रम पर्यटकहरूको मागका आधारमा तय गरिएको हो । उनी भन्छिन्, “यो हाम्रा लागि नयाँ सिकाइ हो । अहिले शुरुआत भएकाले प्रवद्र्धनको चरणमा छौं । तत्काललाई नेदरल्याण्डका नागरिकलाई मात्र लक्षित गरेका छौं।” यसपछि बेलायत र जर्मनीका नागरिकलाई लक्षित गरेर कार्यक्रम चलाउने उनीहरूको योजना छ ।
खर्च धान्नका लागि नयाँ अवधारणा
तीन महीनाअघि बन्दाबन्दी हुने संकेत पाएपछि बर्दिया होमस्टेमा बसेका विदेशीलाई बुद्धि र सोनियाले भ्रमण छोट्याउन लगाएर आ–आफ्नो गन्तव्यमा पठाए । सोनियाको नेदरल्याण्ड जाने कार्यक्रम पनि रोकियो ।
बन्दाबन्दीको एक महीनापछि उनीहरूले विश्वका अन्य ठाउँमा महामारीकै बीच पर्यटन व्यवसाय कसरी सञ्चालन भइरहेको छ भन्ने जानकारी इन्टरनेटबाट लिन थाले । जर्मनीमा नेदरल्याण्डकी एक महिलाले ‘भर्चुअल सिटी टुर’ गराएको भेट्टाए । एक घण्टाका लागि प्रतिव्यक्ति ८ यूरो तिरेर दुवैजना सहभागी भए । “गाइड गर्ने तरिका र प्रस्तुति चित्त बुझ्यो, त्यसपछि हामीले पनि गर्न सकिन्छ कि भनेर सल्लाह गर्यौं”, बुद्धि भन्छन् ।
त्यसपछि पनि सोनियाले इन्टरनेटमा धेरै समय बिताइन् । इटालीमा दुई युवाले चलाएको कुकिङ्ग क्लासबाट प्रति महीना २० हजार डलर आम्दानी गरेको भेट्टाइन्। त्यसपछि उनीहरू पनि ‘भर्चुअल टुर’ सञ्चालन गर्ने निर्णयमा पुगे।
“अहिले हाम्रो कमाउने उद्देश्य होइन, खर्च धान्ने प्रयासको खोजी मात्र हो।”
– साेनिया
नेदरल्याण्डमा रहेका नेपालमा पर्यटक पठाउने ट्राभल एजेन्सी सञ्चालकहरूलाई आफूहरूको योजना सुनाए । विगतमा बर्दिया होमस्टे आएका करीब ४०० पर्यटकलाई आफूहरूको योजना बताए। उनीहरू सबैले सकारात्मक प्रतिक्रिया दिएपछि बुद्धि र सोनिया हौसिए ।
नेपाल आउन नसकेका विदेशी पर्यटकलाई इन्टरनेटको माध्यमबाट देशका अन्य विभिन्न ठाउँको ‘भर्चुअल टुर’ गराउने पनि उनीहरूको सोच छ। सोनिया भन्छिन्, “अहिले हाम्रो कमाउने उद्देश्य होइन, खर्च धान्ने प्रयासको खोजी मात्र हो।”
बर्दिया होमस्टेमा तीन जना पर्यटक गाइड सहित पाँच कर्मचारी छन् । पर्यटन आवागमन ठप्प भएर धेरै होटलले आफ्ना कर्मचारीलाई बिदा गरेका छन्। तर उनीहरूले अहिलेसम्म आफ्ना कर्मचारीलाई तलब दिएर राखेका छन्।
नेदरल्याण्ड छोडेर नेपाल
सोनिया रस्टिक्स पहिलो पटक मार्च २०११ मा नेपाल घुम्न आएकी थिइन् । उनी तराईका निकुञ्ज र पाल्पाको श्रीनगर पुगेकी थिइन्। यहाँको प्राकृतिक सौन्दर्यले उनलाई लोभ्यायो।
त्यसपछि सन् २०१३ सम्ममा तीन पटक नेपाल भ्रमणमा आइन् । त्यसपछि नेपालमै व्यवसाय गर्ने निधो गरिन् र पर्यटक गाइडको काम गर्दै आएका बुद्धि दर्लामीसँगको साझेदारीमा बर्दिया होमस्टे शुरू गरिन् । करीब २३ वर्ष पर्यटक गाइड गरेका बुद्धिसँग नेपालका सम्पूर्ण पर्यटकीय स्थलहरूको ज्ञान थियो भने सोनियासँग व्यवस्थापनको राम्रो अनुभव।
उनी नेदरल्याण्डमा एक कम्पनीमा म्यानेजर थिइन्। “यहाँको प्राकृतिक सौन्दर्य राम्रो लाग्यो, त्यसैले नेपाल रोजें”, उनी भन्छिन्।
जनवरी २०१४ देखि शुरू गरेको बर्दिया होमस्टेमा आउने विदेशी पर्यटकहरूको संख्या बन्दाबन्दी अघि उल्लेख्य रूपमा वृद्धि हुँदै गएको थियो। शुरूआती चरणमा पर्यटकहरूलाई आफैं खाना पकाउने र घुमाउने गरेका थिए। तर संख्यामा वृद्धि भएपछि पर्यटक गाइड र अन्य कर्मचारी राखेका थिए।
शुरूमा एउटा कोठाबाट शुरू गरेको होमस्टेमा अहिले पाँच वटा कोठा छन् । बन्दाबन्दीअघि विदेशी पाहुनाले सबै कोठा भरिन्थे। अहिले पर्यटक आवागमन ठप्प भए पनि उनीहरूले हिम्मत हारेका छैनन्।