थप १० ठाउँमा पीसीआर प्रयोगशाला स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस परीक्षण गर्न थप १० ठाउँमा रियल टाइम पीसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ।
१२ असारमा स्वास्थ्य मन्त्रालयले प्रयोगशाला स्थापना गर्ने बारेको निर्णय सार्वजनिक गर्दै अतिरिक्त १० ठाउँमा रियल टाइम पीसीआर मेसिन स्थापना गरिने जनाएको हो।
१० असारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार अब मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, कीर्तिपुरमा रहेको राष्ट्रिय तालिम तथा अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा रियल टाइम पीसीआरसहितको प्रयोगशाला स्थापना गरिने भएको छ।
यस्तै पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा रियल टाइम पीसीआर मेसिन जडान गरिने भएको हो।
अहिलेसम्म मुलुकका सातै वटा प्रदेशमा २३ वटा रियल टाइम पीसीआरसहितका प्रयोगशाला सञ्चालनमा छन् । मन्त्रालयको यो निर्णय कार्यान्वयन भएपछि मुलुकमा कोरोनाभाइरस परीक्षण गरिने प्रयोगशालाको संख्या ३३ पुग्नेछ।