क्वारेन्टिन बाहिर कोरोना संक्रमित भेटिएपछि समुदायस्तरमा फैलिने चिन्ता
रौतहटमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा बढ्ने चिन्ता देखिन थालेको छ । क्वारेन्टिन बाहिरका तीनजनामा कोरोना संक्रमणको पुष्टि भएपछि रौतहटमा संक्रमणको चिन्ता बढेको हो।
संक्रमित तीन जनामध्ये एकजना पसले, एक जना सवारी चालक र अर्का एकजना युवक हुन्।
रौतहटबाट काठमाडौँ जानको लागि पीसीआर जाँच गराएका ईशनाथ नगरपालिका वडा नम्बर २ का १७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनी गौर नगरपालिका ५ मा बस्दै आएका छन्।
यसै गरी ईशनाथ ३ का २५ वर्षीय युवक सवारी चालक हुन् । वडाध्यक्षको सवारी चालक रहेका युवकमा कोरोनाको संक्रमण पुष्टि भएपछि गाउँमै चिन्ता थपिएको स्थानीयको भनाइ छ।
भारतको मोतिहारी कोरहिया घर भएका एकजना ३० वर्षे पसल संचालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गौर ५ स्थित ससुराली घरमा बस्दै आएका र बौद्धिमाई नपाको बंकुल बजारमा पसल संचालन गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना संक्रमणको पुष्टि भएकाहरुको परिवारका सदस्यका साथै सम्पर्कमा आएकाहरुको स्वाब संकलनको काम भइरहेको जानकारी गराएका छन् । सम्पर्कमा आएकाहरुको रिपोर्ट आएपछि सामाजिक संक्रमणको अवस्थाबारे केही भन्न सकिने प्रजिअ घिमिरेको भनाइ छ।
यसै बीच जिल्ला अस्पताल गौरका मेसु डा. कृष्ण साहले स्थानीयस्तरमा कोरोनाको संक्रमण देखिनु चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् । कोरोना संक्रमण पुष्टि भएका टोलबासी अत्यन्त चिन्तित देखिएको स्थानीयको भनाइ छ।
सञ्जय मित्र, रौतहट