जनकपुर उपमहानगरले गैरकानूनी ढंगबाट नगरसभा गरेको आरोप, वडाध्यक्षहरुकै अगुवाइमा प्रदर्शन
जनकपुर उपमहानगरपालिकाका मेयर र उपमेयरले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले असन्तुष्टि प्रकट गरेका छन्। वडाध्यक्षहरुकै नेतृत्वमा शुक्रबार जनकपुरमा नगरवासीसहितको विरोध र्याली निकालिएको छ।
उपमहानगरले पाँचौं नगरसभा १० असारको राति सम्पन्न भएको जनाएको छ। वडाध्यक्षहरुले भने मेयर लालकिशोर साहले १५/२० जना बसेर फर्जी हस्ताक्षर गरी बहुमत पुर्याएको देखाएर गैरकानूनी ढंगबाट नगरसभा गरेको आरोप लगाएका छन्।
मेयर साहले एकतर्फी रुपमा योजना बनाएर नगरसभामा प्रस्तुत गर्न लागेको भन्दै असन्तुष्ट पक्षहरुले नगरसभाको हल बाहिर विरोध गरिरहेका वेला भित्र साट्टसुट्ट नगरसभा गरेको देखाइएको आरोप लगाएका छन्। वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले आफूहरुलाई भित्र पस्न नदिएर मेयर लालकिशोर साहले मध्यरातमा नगरसभा गरेर यसबारे सामाजिक सञ्जालमा पोष्ट गरेको बताए।
उनले भने, "हामीले चालू आर्थिक वर्षको खर्च विवरण देखाउनुपर्ने र आगामी वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल भएपछि मात्रै नगरसभामा प्रस्तुत गर्नुपर्छ भनेका थियौं, तर एकैपटक नगरसभामै वितरण हुन्छ भनेपछि हामीले त्यो कार्यशैलीको विरोध गरेका हौं।” कार्यपालिकाको बैठकबाट पारित भएपछि नीति तथा कार्यक्रम र बजेट पास भएपछि प्रस्तुत गर्नुपर्नेमा मेयर र उपमेयरले मनोमानी किसिमले काम गरेको उनले बताए।
उपमहानगरपालिकाको वेबसाइटमा आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रमको पीडीएफ फाइल बिहीबार दिउँसो अपलोड गरिएको छ, तर खोल्न मिल्दैन। वडा नम्बर १३ का वडाध्यक्ष शुवनारायण महतो भन्छन्, “हामी वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले समेत नीति तथा कार्यक्रम हेर्न पाएका छैनौं, नगरसभा सम्पन्न भनेर देखाउन मात्र जानाजान रुपमै वेबसाइटमा खोलेर हेर्न नमिल्ने फाइल राखिएको छ।"
उनले पनि नगरसभाका बहुमत सदस्य आफूहरुको पक्षमा भए पनि फर्जी हस्ताक्षरबाट बहुमत देखाइएको बताए।
उपमहानगरले आर्थिक वर्ष २०७७/७८ को नगरसभा ९ र १० असारमा हुने सूचना निकालेको थियो। ९ गते विवाद भएपछि नगरसभा बैठकमा गणपूरक संख्या पुग्न नसकेकाले १० गते बैठक बस्ने सूचना निकालिएको थियो। तर, १० गते असन्तुष्ट पक्षले नगरसभा गर्न नदिने भन्दै विरोध गरेपछि साँझ वार्ता भएको थियो।
वार्तामा कुरा नमिलेपछि आफूहरुले विरोध जनाएर नगरसभा रोक्ने प्रयास गर्दा प्रवेशमा रोक लगाएर हलमा १५/२० जना बसेर राति नगरसभा गरेको घोषणा गरिएको वडा नम्बर १३ का वडाध्यक्ष महतोले बताए।
उनले भने, "माइन्युटमा हस्ताक्षरमा पुर्याउन फर्जी हस्ताक्षर गरिएको छ, कतिलाई पैसाको प्रलोभन देखाएर हस्ताक्षर गरिएको पाएका छौं।"
मेयर पक्षका वडाध्यक्ष रमेश ठाकुरले भने केही विवाद भए पनि कानून बमोजिम नै नगरसभा सम्पन्न भएको बताए। नगरका प्रमुख प्रशासकीयक अधिकृत गोपालप्रसाद रेग्मीले पनि भने, “विवाद के हो भन्दा पनि मैले हेर्ने कानून अनुसार भयो कि भएन भन्ने हो, त्यसरी हेर्दा बहुमत सदस्यको उपस्थितिमा सभा भएको छ।”
असन्तुष्ट पक्षले बिहीबार पत्रकार सम्मेलन गर्दै गैरकानूनी ढंगले नगरसभा भएकोबारे जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, प्रदेश संसद र नेपाल सरकारलाई जानकारी गराएको बताएको छ।