नेताहरु मिलाउन विष्णु पौडेलको दौडधुप
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु बीच स्थायी कमिटी बैठकको उद्घाटनकै क्रममा भनाभनको अवस्था बन्यो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकअर्कालाई कडा आक्षेप लगाए भने वरिष्ठ नेता माधवकुमार नेपालले देखिने गरी असन्तुष्टि पोखे।
शीर्ष नेताहरुले असन्तुष्टि र एकअर्कामाथि आरोप लगाएर उद्घाटन भएको बैठक बिहीबार भने राखिएको थिएन। स्थायी कमिटी बैठक नराखिए पनि बिहीबार दिनभर जसो नेताहरुबीच भेटवार्ता चल्यो। मुख्यगरी महासचिव विष्णुप्रसाद पौडेलको दौडधुप बढेको छ।
महासचिव पौडेलले ओली, दाहाल, नेपाल सहित नेताहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन्। उनले हिमालखबरसँग भने, “मैले सचिवालयका सबै नेताहरुसँग कुरा गरेको छु। प्रमुख नेताहरुसँग मात्रै होइन।” पौडेलले पार्टीभित्र देखिएको तिक्तता स्थायी कमिटीबाटै हल हुने गरी छलफल चलाइने बताए।
महासचिव पौडेलले भने, “उद्घाटन मन्तव्यका क्रममा उहाँहरुले जे भने पनि छलफलबाट पार्टी एकताबद्ध बनाएर अगाडि बढ्छौं, यो बीचमा धेरै कुरा भएको छ।” उच्च स्रोतका अनुसार, महासचिव पौडेलले अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई मनाउने प्रयास गरिरहेका छन्।
“प्रधानमन्त्रीलाई हामी सम्झाउँछौं, तपाइँले पनि कुरा मिल्नेगरी नै प्रस्तुत हुनुपर्यो”, दाहाललाई महासचिव पौडेलको प्रस्ताव थियो। पौडेलले विशेषगरी सचिवालयका नेताहरुको राय लिने र सहमतिको न्यूनतम शर्तबारे प्रस्ताव गर्ने गरेको ती स्रोत बताउँछन्।
प्रधानमन्त्रीको भेटवार्ता
बिहीबार प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गाैतमसँग भेटवार्ता गरे। आफू निकट नेताहरुसँगको सल्लाहमा उपाध्यक्ष वामदेव गौतमसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका थिए। अध्यक्ष ओलीसँग भेटवार्ता गर्न १२ बजेतिर गौतम बालुवाटार पुगेका थिए।
उपाध्यक्ष गौतम पछाडि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाल बीच समेत भेटवार्ता भयो। दिउँसो एक बजे दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।अध्यक्ष दाहाल लगत्तै प्रधानमन्त्री ओलीले नेता नेपालसँग भेटवार्ता गरेका छन्।
२५ वैशाख र ३१ वैशाखमा बोलाएर पनि अन्तिम समयमा स्थगित भएको स्थायी कमिटी बैठक एघार बजे बालुवाटारमा बोलाइएको छ। बैठकमा सरकार र पार्टी कामको समीक्षा, महामारी रोकथाममा भएका प्रयास, एमसीसी लगायत अजेण्डा छलफलको विषय बनाइएको छ।