ढोका फोडेर क्वारेन्टिनका सबै सामग्री चोरी
बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनका सामान चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री समेत चोरी भएको हो ।
नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापाका अनुसार ५ असारदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेर भित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको हो । क्वारेन्टिनमा कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान थिए । त्यस्तै कुकर पाँच लिटरको एक थान, फ्राइपिन दुई थान, कराही एक थान र पुन्यूँ एक थान सबै चोरी भएको छ ।
यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरीद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाहा पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले जनाएको छ ।
पीसीआरको रिपोर्ट नआउँदै घर पठाइयो
जिल्लाको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टिनमा बसेका १८ जना कोरोना सङ्क्रमितलाई घर पठाइएको छ । सङ्क्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै घर पठाइएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बूढीगङ्गा नगरपालिका–१ धुरालसैन क्वारेन्टिनमा बसेका १७ जना र वडा नम्बर २ वसन्त प्राविको क्वारेन्टिनमा रहेकी एक सङ्क्रमितलाई नगरपालिकाले घर पठाएको हो । वसन्त प्राविमा रहेकाको आरडीटी पोजेटिभ आउँदा पीसीआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई समेत घर पठाइएको छ । १४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ ।
१४ दिनसम्म पनि पीसीआर जाँचको रिपोर्ट नआएपछि सरकारको मापदण्डअनुसार घरको आइसोलेसनमा बस्ने गरी कागज बनाएर पठाएको अनमी दिया सिंहले बताइन् । तर संक्रमितहरु होम क्वारेन्टिनमा नबसी घुम्ने गरेको पाइएको छ । जसले गर्दा गाउँमा त्रासको वातावरण छ । यसअघि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जना सङ्क्रमितलाई पीसीआर जाँचको रिपोर्ट नआउँदै घर पठाइएको थियो ।