प्रदेश अस्पताल सुर्खेतका नौ स्वास्थ्यकर्मीलाई काेरोना संक्रमण
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ ।
अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला र एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण भएको देखिएको हो ।
सङ्क्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसैबीच, आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पीसीआर परीक्षण गरिएको थियो । भारतबाट ११ जेठमा आएका उनलाई १४ दिन क्वारेन्टिनको बसाइँपछि आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।
दुल्लुका मेयर घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताएका छन् । यसअघि भारतबाट फर्किएकी सुर्खेत सिम्ता गाउँपालिकाकी एक युवतीमा पनि कोरोना परीक्षणको नतिजा पोजेटिभ देखिएको थियो ।