के शेर्पा समुदायको डीएनएबाट सम्भव होला त कोभिड –१९ उपचार ?
एक अमेरिकी स्टार्ट–अप कम्पनीले कोभिड–१९ महामारी उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डीएनए अध्ययनको प्रयास थालेकोे छ।
कम्पनीले आफ्नो अध्ययनका लागि उच्च हिमाली भेगमा अक्सिजनको मात्रा कम हुँदा पनि शेर्पाहरु कसरी सहज जीवन यापन गर्छन् भन्ने जिज्ञासालाई आधार बनाएको छ।
भेरियन्ट बायोका अनुसार, यो अनुसन्धानले कोभिड १९ बाट पीडित बिरामीको उपचार गर्न सहयोगी हुनेछ । किनभने भाइरसले फोक्सोलाई प्रभावित गर्छ र रगतमा अक्सिजनको मात्रा घटाउँछ । अर्थात् लेक लागेका मानिसहरुलाई जस्तै हुन्छ।
“कोभिड १९ मा अक्सिजनको कमीकै कारण मानिसको मृत्यु हुनेगर्छ”, भेरिएन्ट बायोका सहसंस्थापक र अनुवांशिकीविद् स्टीफन कास्टलले एक समाचार रिपोर्टमा भनेका छन्, “हुनसक्छ रोगीलाई स्वस्थ राख्ने केही उपाय भेटिनेछ।”
शेर्पा समुदायकाे डीएनए अध्ययन श्वासप्रश्वास समस्या, मुटु रोगलगायतको उपचारमा सहयोगी हुनसक्ने भन्दै करीब ९ महीना अघि भेरियन्ट वायोको एक टोलीले खुम्बुक्षेत्र पनि भ्रमण गरेको थियो । तर, अहिले कम्पनीले आफ्नो अध्ययनलाई कोभिड–१९ को उपचारमा केन्द्रित गरेको छ।
आफ्नो वेबसाइटमा कम्पनीले आगामी अक्टोबरदेखि खुम्बुक्षेत्रका दुई हजार शेर्पाको डीएनए संकलन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
जनस्वास्थ्यविद्हरुले भने त्यस्ता अनुसन्धानको वैज्ञानिक आधार बारे शंका व्यक्त गरेका छन् । केही शेर्पा शिक्षाविद्हरुले पनि अनुसन्धानको नैतिक पक्षसम्बद्ध प्रश्नहरु उठाएका छन्।
“संसारभरका आदिवासी र सीमान्तकृत समुदायको जीनलाई अनुसन्धानका नाममा दुरुपयोग गरिएको छ”, अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीको स्कूल अफ अर्थ एण्ड स्पेश एक्स्प्लाेरेसनमा पीएचडी गरिरहेकी सोनाम फुटी शेर्पा भन्छिन्, “मेरो समुदायलाई निजी लाभका लागि प्रयोग गर्न खोजिरहेको थाहा पाउँदा म चिन्तित भएको छु।”
उनका भनाइमा, भेरियन्ट बायो प्रोजेक्टको यो कार्य अन्तर्राष्ट्रिय कानून र नैतिकता विपरीत हो । र, अनुसन्धानमा संलग्न खुम्बुका शेर्पाहरुलाई पनि यसको अभिप्रायबारे केही बताइएको छैन।
“अन्तर्राष्ट्रिय क्लिनिकल कानून अनुसार यदि कुनै समुदायको प्रयोगबाट औषधि बनाउने हो भने समुदायले पनि त्यसको फाइदा लिन पाउनुपर्छ अन्यथा यो अनैतिक र अन्ततः अवैध मानिन्छ”, शेर्पा भन्छिन्।
वैज्ञानिकहरुले हिमाली क्षेत्रमा वसोवास गर्नेहरुको रहस्य उजागर गर्ने प्रयत्न गरिएको यो पहिलो घटना होइन । त्यो उच्च भूभागमा बस्ने शेर्पाहरुलाई के ले यति सक्रिय बनाउँछ र होचो ठाउँमा बस्नेहरु त्यहाँ पुगेपछि किन केही गर्न नसक्ने हुन्छन् ? भन्नेमा धेरैको चासो रहेको छ।
कोभिड १९ विरुद्ध खोप र औषधि उपचारको खोजीमा केही चिकित्सकहरुले बिरामीलाई हतास बनाउने खालका उपायको सहारा समेत लिएका देखिन्छन् । न्युयोर्क सिटीका एक डाक्टरले हालैमात्र डायमक्स औषधि सिफारिस गरेका थिए, जुन उच्च उचाइमा देखिने पल्मोनरी इडिमा (एचएपीई) को उपचारमा गरिन्छ।
हाई अल्टिट्युड औषधिका विशेषज्ञ बुद्ध बस्न्यातका भनाइमा कोभिड– १९ का बिरामीको उपचारमा यस्ता औषधि प्रयोग गरिनु कुनै पनि प्रकारले तर्कसंगत छैन । “बरु यसको जथाभावी प्रयोगले खतरा निम्त्याउने जोखिम छ”, हालैमात्र ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यसै विषयको अनुसन्धानात्मक आलेखका सहलेखक समेत रहेका बस्नेतले प्रष्ट लेखेका छन्।
तर, भेरियन्ट बायोले यस्ता तथ्यप्रति कुनै चासो नराखेको बताइन्छ। यो कम्पनीले न्युजिल्याण्डस्थित माओरीका स्थानीय र पाकिस्तानबाट पनि यस्तै डीएनए संकलन र अनुसन्धान अघि बढाइरहेको बताइएको छ।