सामाजिक सञ्जालमार्फत करोडौँ ठगी, भारतीयसहित सात जना पक्राउ
सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा परेको भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा प्रहरीले बुधबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् ।
ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उक्त गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी ठगी गरेका थिए ।
ठगीमा संलग्नलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका घर भई काठमाडौँ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, रौतहटका एस अग्रवाल तथा पर्साका कृष्णप्रसाद साह र सुनिल साह छन् ।
त्यस्तै भारतीय नागरिक विहारका एमडी सर्फराजलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बुधबार नै महानगरीय प्रहरी परिसर, काठमाडाैं पठाइएको महाशाखाले जनाएको छ।
महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । चिठ्ठामार्फत ठूलो रकम कमाउने लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ।
अहिलेसम्म उनीहरुबाट एक करोडौँभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक कार्कीको भनाइ छ । उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ ।
कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखेर पैसा बुझाएका छन् । उनीहरु घरबारविहीन भएको पाइएको प्रहरीले जनाएको छ ।