दाहालले भने- आलोपालो प्रधानमन्त्री छोडेर गल्ती गरेको महशुस हुन थाल्याे
दुई पटक स्थगित भइसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार एघार बजे बोलाइएको थियो। तर, निर्धारित समयको एक घण्टा अगाडि सम्म बैठकको अजेण्डा नै तय भएको थिएन।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले बैठकको अजेण्डा तय गर्न सोमबार अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित आफू निकट केही नेताहरुसँग छलफल त गरे, तर सहमति जुट्न सकेन। दुई अध्यक्ष बीच नै सहमति नजुटेपछि अजेण्डा तय हुन सकेको थिएन।
बुधबार बैठकका लागि स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुग्न थालेपछि भने चार नेता छलफलमा जुटे। दुई अध्यक्ष ओली–दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णुप्रसाद पौडेल छलफलमा जुटेपछि अजेण्डा तय भयो।
चार नेताबीच तय भएको अजेण्डामा फेरि स्थायी कमिटी सदस्यहरुले असहमति जनाए। विशेषगरी सरकारको समीक्षा छलफलको अजेण्डा नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए। “सात महीना पछि बल्लतल्ल बोलाइएको बैठकमा सरकारकै समीक्षा नहुने भएपछि बैठककै औचित्य हुने थिएन”, स्थायी कमिटीका एक नेताले भने।
बैठकको अजेण्डा संशोधन गरिए पछि अध्यक्ष दाहालले उद्घाटन मन्तव्य राखेका थिए। ती नेताका अनुसार, यसपटक दाहालले प्रधानमन्त्री ओलीको कार्यशैली प्रति कडा आलोचना मात्रै गरेनन्, कार्यशैली नसुधारिए पार्टी बिघटन नै हुन सक्ने चेतावनी दिए।
दाहालले पार्टी एकीकरणका बेला भएको सहमतिबाट पछि हटेर आफूले गल्तीको महशुस भएकाे बताएका थिए। उनले २ जेठ २०७५ मा भएको आलोपालो प्रधानमन्त्रीको सहमति र फेरि ५ मंसीर २०७६ मा आफूलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको प्रशंगबारे व्याख्या नै गरेका थिए।
“पार्टी र देश बलियो हुन्छ भनेर साथीहरुको सल्लाह नमानी यही सरकारलाई पाँच वर्ष चल्न दिनेमा सहमति गरेँ। अहिले त्यो गल्ती थियो भन्ने महशुस हुन थालेको छ”, दाहालको भनाइ थियो। आलोपालो प्रधानमन्त्रीको सहमति छोड्दा प्रधानमन्त्रीमा अहंकार देखिएको दाहालको टिप्पणी थियो।
अध्यक्ष दाहालले बैठकमा ओलीप्रति जसरी असन्तुष्टि पोखेका थिए प्रधानमन्त्री ओलीले पनि उस्तै गुनासो राखेको स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए। प्रधानमन्त्री ओलीले आफूलाई अल्पमतमा पारेर सरकार असफल बनाउने काम भएको बताएका थिए।
“मेरो विपक्षी धेरे भयो, पार्टीमै पनि बिपक्ष भएपछि काम गर्न गाह्रो हुने रहेँछ। बहुमतले एक्ल्याउने काम भयो”, प्रधानमन्त्री ओलीको भनाइ थियो। पार्टीभित्र बहुमतको खेलले सरकारले राम्रो काम गर्न सकेको प्रधानमन्त्रीको तर्क थियो।
“दुई अध्यक्षले उद्घाटन मन्तव्य जसरी राख्नुभयो। यसरी पार्टी अगाडि बढ्न सक्दैन। दुवैको कार्यशैली सुधार्नुपर्ने देखियो”, गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका गुरुङले हिमालसँग भने। पार्टी र सरकार बीचमा समस्या देखिएको प्रष्ट दृष्य स्यायी कमिटीमा प्रकट भएको उनी बताउँछन्।
दाहाल निकट एक नेता पनि शीर्ष नेताहरु बुधबार यस अगाडिका बैठकहरुमा भन्दा बढी नै आक्रोशित देखिएको बताउँछन्। ती नेता भन्छन्, “तर, छलफल बाँकी नै छ। स्थायी कमिटीका नेताहरु बोल्न शुरु नै नभएकाले नेतृत्वलाई सच्याउनेगरी हामी प्रस्तुत हुन्छौं।”
प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै एक घण्टा बढी बोलेका थिए। पुरानै कुरा दोहोरिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रिया दिएपछि ओली–नेपाल बीच समेत केही भनाभन भएको थियो।
बैठकमा दुई अध्यक्षको बसाई अरु सचिवालय नेताहरु भन्दा फरक गरिएपछि कार्यालय सचिव मार्फत् नेता नेपालले आफैंले कुर्सी सार्न समेत लगाए। स्थायी कमिटीका एक नेताका अनुसार, पार्टी एकीकरण दुई अध्यक्षकै कारण संभव भएको भन्ने अभिव्यक्तिमा नेता नेपालले सवै नेताको उत्तिकै भूमिका रहेको मान्नुपर्ने भन्दै खण्डन गरेका थिए। “यसपछि आफ्नो पालोमा बोल्नुस् न भन्दै प्रधानमन्त्री झर्किएपछि माधव नेपालले एउटै कुरा सुनेर कान तातिसकेको जवाफ दिनुभयो”, ती नेता भन्छन्।
८ वैशाखमा प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि १० वैशाखमा २० जना स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा बैठकको माग गरेका थिए।
तर, २५ वैशाख र ३१ वैशाखमा मिति तोकेर पनि अन्तिम समयमा स्थगित भएको बैठक बुधबारबाट शुरु भएको छ। पहिलो दिन दुई अध्यक्षको मन्तव्य र अजेण्डा तय गर्ने कार्य सकिएको बैठक शुक्रबार एघारसम्मलाई स्थगित भएको छ।