विराटनगर महानगरपालिकाको वार्षिक बजेट तीन अर्ब ३७ करोड
विराटनगर महानगरपालिकाको वार्षिक बजेट छैटौं नगरसभाले सार्वजनिक गरेको छ।
महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु. तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट बुधबार सार्वजनिक गरेको छ।
आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ रु. ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ रु. एक अर्ब दुई करोड नौ लाख रहेको छ।
प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रु. दुई करोड १० लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानतर्फ रु. १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. तीन करोड, वैदेशिक र अन्य सङ्घसंस्था अनुदानतर्फ रु. तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने रु. नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ।
विनियोजित कूल व्ययतर्फ रु. तीन अर्ब ३७ करोड ८१ लाख मध्ये प्रशासनिक खर्चतर्फ रु. ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ रु. ३६ करोड, वातावरण तथा फोहाेरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरीदसहित रु. ११ करोड ४९ लाख ५० हजार रहेको छ।
त्यस्तै नगर स्वास्थ्यतर्फ सङ्घीय सरकारसमेत रु. ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ रु. ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकूदमा रु. दुई करोड नौ लाख २४ हजार, अन्य कार्यक्रममा रु. ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च रु. एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा कार्कीले बजेट सार्वजनिक कार्यक्रममा जानकारी दिइन्।
वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
वार्षिक बजेट सार्वजनिक कार्यक्रमको अवसरमा विराटनगर महानगरपालिकाको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
पराजुलीले नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरेको बताए । वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख पराजुलीले पूर्वाधार सम्बन्धी, सूचना सम्बन्धी, वित्तीय व्यवस्थापन, राजस्व परिचालन, सामाजिक विकास सम्बन्धी नीति अन्तर्गत शैक्षिक, युवा, खेलकूद, नगर स्वास्थ्य सम्बन्धी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा परिवर्तन ल्याउने दाबी गरे।
उनले बालबालिका, गैरसरकारी सङ्घसंस्था, सहकारी, विपद् व्यवस्थापन, वातावरण संरक्षण एवं प्रवद्र्धन, खानेपानी तथा सरसफाइ, पशुपक्षी तथा कृषि विकास र भूमिसम्बन्धमा लिएको नीतिले बनाइएको बजेटबाट विराटनगरको ऐतिहासिकता प्रस्ट भई आधुनिक विराटनगर निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाका कारण तीनै तहका सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको बताए । प्रदेश सरकारले विराटनगर क्षेत्रमा वीरेन्द्र सभागृह, शहीद मैदान, बैजनाथपुर रङ्गशाला, विराट राजाको दरबारको संरक्षण, केशल्या नदीमा तटबन्ध, परोपकार घाटको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ जानकारी दिए।
प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिकलाई जीवन निर्वाह भत्ता
वार्षिक बजेट र वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै जीवन निर्वाह भत्ता दिने जानकारी दिइएको छ।
प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिकहरु रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्यामबहादुर सुब्बा लिम्बू, तोरेन्द्रमान प्रधान र गोपालप्रसाद शर्मालाई सम्मान गर्दै नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी जीवन निर्वाह भत्ता बापत जनही मासिक रु. दुई हजार ५०० दिने जानकारी गराइएको थियो।