च्यारिटी प्रतियोगिता खेलेका नम्बर एक टेनिस खेलाडी जोकोभिकलाई कोरोना संक्रमण
विश्वका नम्बर एक लन टेनिस खेलाडी नोभाक जोकोभिकलाई कोरोनाभाइरस संक्रमण भएको छ । क्रोएसियाको जाडारमा जोकोभिकले आयोजना गरेको ‘एड्रिआ टुर’ च्यारिट प्रतियोगिता खेल्ने उनीसहित शीर्ष तीन खेलाडी संक्रमित भएका छन् ।
जोकोभिकले सो प्रतियोगिता आयोजनाका लागि माफी मागेका छन् । प्रतियोगिता बीचैमा रोकिएको छ । उक्त खेलकुदमा भाग लिने विश्व नम्बर १९ ग्रिगोर दिमित्रोभ र नम्बर ३३ बोर्ना क्रोकिक पनि संक्रमित भएका छन् ।
१७ पटकका ग्रान्डस्लाम विजेता ३३ वर्षीय नोकोभिककी श्रीमती जेलेना पनि संक्रमित भएकी छिन् । उनका छोराछोरीको जाँचको नतिजा भने नेगेटिभ आएको छ ।
आफूले आयोजना गरेको कार्यक्रमबाट हानी भएको भन्दै जोकोभिकले माफी मागेका छन् । उनले भनेका छन्, “कार्यक्रम गर्ने समय गलत थियो र हामी हतारियौं । यसबाट भएको दु:खका लागि म क्षमाप्रार्थी छु । अहिले म घर फर्किको छु र आराम गरिरहेको छु।”
प्रतियोगिता राम्रो नियतले गरिएको भए पनि आफूहरु गलत भएको उनले बताएका छन् । दर्शकसमेत राखेर प्रतियोगिता गराएको भन्दै अहिले जोकोभिकको आलोचना भइरहेको छ ।
अहिले उनी बेलग्रेड फर्किएका छन् । उक्त प्रतियोगिता खेल्ने सबै खेलाडी र तिनका परिवारका सदस्यको परीक्षण पनि शुरु गरिएको छ ।