वालिङ नगरपालिकाको राहत कोषमा शिक्षकले दिए १५ लाख
स्याङ्जाको वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा रु.१५ लाख ३४ हजार ९८३ सहयोग गरेका छन् । नगरपालिकाको कोषमा उपलब्ध यो हालसम्मकै ठूलो सहयोग हो ।
नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकले कोषमा सहयोग गरेका हुन् । उक्त रकमको चेक मङ्गलबार वालिङका मेयर दिलीपप्रताप खाँण तथा उपमेयर कल्पना तिवारीलाई हस्तान्तरण गरिएको छ ।
विश्व समुदाय कोरोनाभाइरससँग जुधिरहेको अवस्थामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष एवं रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए । नगरभित्रका मावि तह वा सो सरहका शिक्षकहरुको पाँच दिनको र अन्य शिक्षकहरुको तीन दिनको पारिश्रमिक सङ्कलन गरिएको उनले जानकारी दिए ।
कोभिड–१९ का कारण आइपरेको समस्यामा राज्यले बनाएको नीतिलाई सहर्ष स्वीकार गरी रकम सङ्कलन गरेर नगरपालिकालाई एकमुस्ट उपलब्ध गराइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य एवं पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताए ।
मेयर खाँणले शिक्षकहरुले कोरोनाभाइरस नियन्त्रणका लागि अनवरतरुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेको बताए । “नगरपालिकाले स्थापना गरेको राहत कोषमा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले एकमुस्ट हालसम्मको सर्वाधिक राशि उपलब्ध गराएर ठूलो सहयोग गर्नुभएको छ” उनले भने, “यहाँहरुले उपलब्ध गराउनुभएको रकमको सही सदुपयोग गर्नेछौँ ।”