सबै नगरपालिका प्रमुख र उपप्रमुखहरुको 'कोरोना बीमा'
नेपाल नगरपालिका संघले नगरका प्रमुख र उपप्रमुखहरुको कोरोना बीमा गरिदिएको छ ।
देशभरिका महानगर, उपमहानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले विज्ञप्ति प्रकाशित गरी संघका प्रदेश संयोजकहरुलाई समन्वयन गर्न आग्रह गरेको छ ।
संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले निकालेको विज्ञप्तिमा स्वास्थ्य जोखिमतालाई मध्यनजर गर्दै प्रमुख र उपप्रमुखमा कोरोना पोजेटिभ देखिए उपचार खर्चबापत रु. एकलाख को ‘कोरोना भाइरस बीमा’ गरिएको उल्लेख छ ।
संघकी उपाध्यक्ष कविता ढुंगानाले संघले गर्ने विभिन्न कार्यक्रमहरु कोभिडका कारण हुन नसकेको बजेट कोभिडविरुद्ध अग्रपंक्तिमा खटिने जनप्रतिनिधिहरुको बीमा गर्ने निर्णय भएको बताइन् । उनले भनिन्, “पहिलो चरणमा प्रमुख र उपप्रमुखहरुको गरिएको र यसपछि वडाध्यक्ष र सदस्यहरुको समेत बीमा गर्दैछौं ।”
देशभर ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिका गरी २९३ वटा नगर छन् ।