कोरोना संक्रमित झण्डै ५० लाख निको भए, ३८ लाख उपचाररत
विश्वमा निको हुने कोरोनाभाइरस संक्रमितको संख्या ४९ लाख २१ हजार ३६८ पुगेको छ । अब ३७ लाख ९० हजार ३२६ जना उपचाररत छन् ।
उपचार गरिरहेकामध्ये दुई प्रतिशत अर्थात् ५७ हजार ८८७ जना गम्भीर छन् । दैनिक नयाँ संक्रमितको संख्या बढे पनि मृत्युदर भने घटेको छ ।
हालसम्म विश्वभर करीब ९१ लाख ८६ हजार जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये चार लाख ७४ हजार २५७ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमित र मृत्यु हुने अमेरिकामा छन् । त्यहाँ अहिलेसम्म करीब करीब २४ लाख संक्रमित भइसकेका छन् भने एक लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
त्यसपछि ब्राजिलमा ११ लाख ११ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यहाँ ५१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
रुसमा करीब ६ लाख र भारतमा करीब चार लाख ४५ हजार संक्रमित फेला परेका छन् । रुसमा आठ हजार २०० र भारतमा १४ हजारभन्दा बढीको ज्यान गएको छ । मृत्यु हुनेको तेस्रो नम्बरमा भने बेलायत छ । त्यहाँ ४२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अहिलेसम्म १९ देशमा एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् । पछिल्लो पटक दक्षिण अफ्रिका र क्यानडामा संक्रमितको संख्या एक लाख नाघेको छ । दक्षिण एसियामा भारत, पाकिस्तान र बंगलादेशमा एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।