कृषि विकास ब्यांकको खाता अब अनलाइनबाटै
कृषि विकास ब्यांकले शून्य मौजदातमा घरबाटै खाता खोल्ने सुविधा दिएको छ । यो ब्यांकले आफ्ना सेवालाई विविधीकरण तथा आधुनिक गर्दै जाने क्रममा नयाँ ग्राहक आकर्षित गर्न अनलाइनबाटै खाता खोल्ने व्यवस्था मिलाएको छ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रविधिमैत्री तथा आधुनिक सेवालाई प्रभावकारी रुपमा प्रवाह गर्न अनलाइनबाटै खाता खोल्ने सुविधा दिएको बताएका छन्।
ब्यांकका सबैजसो सेवामा सूचना प्रविधिको प्रयोग भइरहेको र प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न अनलाइनबाट सेवा दिइएको उल्लेख छ । सबै प्रकारको सेवालाई समय सापेक्ष र ग्राहकमैत्री बनाउँदै जाने रणनीति लिएको ब्यांकले जानकारी दिएको छ।
ब्यांकिङ्ग कारोवारको दायरा फराकिलो बनाउन र विद्युतीय उपकरणको प्रयोग गर्न पनि अनलाइनबाट खाता खोल्ने प्रणाली शुरु गरिएको ब्यांकले जानकारी दिएको छ । यस्तो अनलाइन ब्यांक खाता ५ असारदेखि औपचारिक रुपमै शुरु भएको उल्लेख छ।
कृषि विकास ब्यांक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र ब्यांकका सीईओ अनिलकुमार उपाध्यायले संयुक्तरुपमा अनलाइन सेवाको उद्घाटन शुक्रबार नै गरिसकेका छन्।
अनलाइन खाताबाट देश विदेशमा रहेका नेपालीले प्रत्यक्ष लाभ लिन सक्ने ब्यांकले जनाएको छ । अनलाइनबाटै आवश्यक कागजात अपलोड गरी शून्य मौजदातमा खाता खोल्न सकिने उल्लेख छ । अनलाइन सुविधापछि अब घर/कार्यालयमा बसेरै ब्यांक खाता खोल्न सकिने छ।
ब्यांकले विकास गरेको प्रविधि अन्य ब्यांकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको ब्यांकको भनाइ छ । यस्तो अनलाइन खाता खोल्न ब्यांकको वेबसाइटमा उपलब्ध गराएको https://onlineaccount.adbl.gov.np/लिंक क्लिक गरेपछि ग्राहक आफैंले सहजै खाता खोल्न सक्ने पनि उल्लेख छ।