सई दशैंलाई तीन वर्ष बढुवा रोक्का
प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) मन्दीप श्रेष्ठका नाममा रकम असुली गरेको आरोपमा नसिहत पाएका सशस्त्रकै एक प्रहरी नायब निरीक्षक (सई) लगत्तै अर्को कारवाहीमा परेका छन् ।
राजस्व छली निगरानी गर्न खटिएका सई दशैं मण्डल दुई साताअघिमात्र डीआइजीका नाममा घुस मागेका कारण पर्वत सरुवा गराइएका थिए । सई मण्डलले झापा, मोरङ र सुनसरीका व्यापारीबाट रकम उठाएको पाइएको थियो ।
“धेरै ठाउँको सूचना ल्याउन सक्ने भनेर मण्डललाई जिम्मेवारी दिएको थिएँ तर, उनको नियत राम्रो देखिएन”, डीआईजी श्रेष्ठले भने ।
तर, पर्वतस्थित सशस्त्र प्रहरी गणमा पठाइएको मण्डलले सशस्त्रकै महानिरीक्षक शैलेन्द्र खनालविरुद्ध एक अनलाइन पोर्टलमा प्रकाशित समाचार आफ्नो फेसबुकमार्फत सेयर गरेका थिए ।
विभागीय अनुशासनविरुद्ध लगातार काम गरेको आरोपमा मण्डललाई अहिले तीन वर्ष बढुवा नहुँने गरी कारवाही गरिएको पर्वतका सशस्त्र प्रहरी उपरिक्षक रमेश सुवेदीले बताए । “फेसबुकमा जथाभावी कुप्रचार गरेको थाहा पाएपछि विभागकै आदेशमा नसिहत दिएको हुँ”, सुवेदीले भने ।
यसअघि पनि पटक पटक बिभागीय कारवाही भोग्दै आएका मण्डल १५ वर्षपछि मात्रै असईबाट सईमा बढुवा भएका थिए ।