बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति सकिएको खेलमा रियल सोसिडाडलाई पराजित गर्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।
कडा प्रतिष्पर्धात्मक खेलमा मड्रिडले सोसिडाडलाई दुई–एक गोल अन्तरले पराजित गरेको छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको पाँच मिनेटमै मड्रिडले अग्रता लियो। डिएगो लोरेन्टले भिनिसियल जुनियरलाई फउल गरेपछि मड्रिडले पेनाल्टीको अवसर पाएको थियो। ५०औं मिनेटमा पाएको पेनाल्टीलाई मड्रिडका सर्जियो रामोसले गोलमा परिणत गर्दै अग्रता दिलाए।
यसपछि दुवै पक्षबाट गोलका लागि केही राम्रो अवसर बनाएका थिए। तर, गोल हुन सकेन। ७०औं मिनेटमा करिम बेञ्जिमाले गोल गर्दै मड्रिडलाई दोब्बरको अग्रता दिलाए।
सोसिडाडका लागि ८३औं मिनेटमा मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै खेलमा फर्कने संभावना बनाए। तर, हार टार्न भने सकेनन्। निर्धारित ९० मिनेटमा ६ मिनेट अतिरिक्त समय थप गरिएको थियो। सोसिडाडलाई खेलमा फर्कन यो राम्रो अवसर थियो। तर, फर्कन सकेनन्।
जितसँगै आठ खेल पछाडि मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ। मड्रिडले ३० खेलबाट बार्सिलोनासँग समान ६५ अंक बनाएकाे छ।
शनिबार बार्सिलोना सेभिल्लासँग गोल रहित बराबरीमा रोकिएको थियो। बार्सिलोनाको अर्का खेल बुधबार राति हुँदैछ भने मड्रिड बिहीबार मल्लोर्कासँग खेल्नेछ।
सोसिडाड भने पराजयसँगै ३० खेलबाट ४७ अंक सहित छैटौं स्थानमा छ।