कोभिड–१९ को जोखिम मूल्यांकन गर्ने विधि कोभिरा सार्वजनिक
आइतबार नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको एक कार्यक्रम मार्फत कोभिड–१९ को व्यक्तिगत र स्थानीय जोखिम मूल्यांकन गर्ने विधि कोभिरा सार्वजनिक गरिएको छ।
कोभिड–१९ को व्यक्तिगत र स्थानीय जोखिम मूल्यांकन गर्न www.covira.info वेबसाइट प्रयोगमा ल्याइएको हो।
विभिन्न क्षेत्रका विज्ञहरुकाे सहभागितामा साइन्स हब नेपालले उक्त विधि निर्माण गरेको हो । साइन्स हब नेपालका अनुसार, नेपालभित्रका जुनसुकै ठाउँको स्थानीय स्तरको जोखिम उक्त वेबसाइट मार्फत हेर्न सकिनेछ।
कोभिरा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपाल इन्जिनियर्स एसाेसिएसनका महासचिव छवि पोखरेलले नेपाललाई कोरोनाभाइरसको महामारीको समयमा जोखिम व्यवस्थापनमा सहयोगी हुने बताए।
उक्त विधि बनाउने काममा संलग्न बेलायतको ब्रिस्टोल युनिभर्सिटीमा कार्यरत डा.ऋषिराम पराजुलीका अनुसार, कोरोनाभाइरस लागिहालेमा कोभिरा मार्फत उमेर, लिंग र दीर्घरोगको अवस्था हेरी कति जोखिममा रहेको भन्ने बारेमा जानकारी पाउन सकिन्छ । यस्तै व्यक्तिको दैनिक क्रियाकलापका आधारमा कोरोनाभाइरसको संक्रमण हुन सक्ने जोखिमका बारेमा पनि कोभिरा मार्फत थाहा पाउन सकिने डा. पराजुलीले बताए।
कोभिरा विधिबाट व्यक्तिको आफ्नो र परिवारको जोखिम मूल्यांकन गर्न सकिन्छ । विभिन्न ठाउँको नक्शा अनुसार कोरोनाभाइरसको जोखिम कहाँ–कहाँ छ भनेर हेर्न सकिने सुविधा राखिएको छ । साइन्स हबले कोभिरालाई अन्य धेरै भाषाहरुमा प्रयोग गर्न सकिने गरी एप्लिकेसन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ।