कोरोना कहरसँगै मनसुनजन्य विपद्को जोखिममा मुलुक
विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।
मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ । यो वर्ष दोहोरो विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्न नसके ठूलो क्षति बेहोर्नुपर्ने सम्भावना जीवित छ ।
"एकातर्फ कोरोनाबाट उत्पन्न विपद्को सामना गरिरहँदा भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ भने अर्कोतर्फ यही बेला मनसुनजन्य विपद्को समय थपिएपछि मुलुकसामु बहुप्रकोपविरुद्ध लड्नुपर्ने चुनौती छ" भन्छन् विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा।
कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । यो अवधिमा २२ जनाको मृत्युसमेत भइसकेको छ । नौ हजार बढी सङ्क्रमित भेटिइसकेका छन् । अहिले पनि मुलुक बन्दाबन्दीबाट मुक्त भइसकेको छैन । राज्य संयन्त्र कोरोना नियन्त्रणमा सक्रिय छ । त्यस चुनौतीकाबीच वार्षिक तथ्याङ्क हेर्दा मनसुनजन्य विपद्को अवस्था पनि डरलाग्दो छ ।
गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । झण्डै सात अर्बको क्षति भएको विवरणमा उल्लेख छ । उक्त प्रतिवेदनमा तीन हजार ६३९ घाइते हुने गरेको अभिलेख छ । जलप्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ ।
भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः एघारौँ र तीसौँ स्थानमा छ । जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन् । विविध जटिलता र जोखिमका कारण मनसुनजन्य विपद् रोक्न र आएको विपद्बाट क्षति कम गर्न आवश्यक तयारीमा चुक्न हुँदैन ।
विपद् जोखिम व्यवस्थापन विज्ञ डा देवकोटाले दोहोरो विपद्को अवस्थामा तराई क्षेत्रमा थप चुनौती रहेको बताए । “कोभिड–१९ को सङ्क्रमण तराईमा बढी छ, डुबानको समस्या पनि तराईमा छ । तराईका क्वारेन्टिन डुबानका पर्यो भने अवस्था झन नाजुक हुनसक्छ, त्यसतर्फ बेलैमा ध्यान दिनुपर्छ”, उनले थपे ।
कोरोनाको व्यवस्थापन र मनसुनजन्य विपद्को व्यवस्थापन अलग अलगरुपमा गर्न सकिएन भने थप समस्या हुनेछ । राहत र उद्धारमा खटिने सुरक्षाकर्मी होस् या अन्य निकायका प्रतिनिधि अलगअलगरुपमा खटिन सके समुदायमा हुने सङ्क्रमण रोक्न सकिनेतर्फ डा देवकोटाले ध्यानाकर्षण गराएका छन्।
यही ५ असारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास गरी कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । गृहमन्त्री रामबहादुर थापा यसपालि दोहोरो विपद्को सामना गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै , “मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरूको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी” रहेको बताउँछन् ।
मन्त्रालयले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरे पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महशुस गरेको जनाएको छ । बहुप्रकोपका बेला केन्द्र, प्रदेश र स्थानीय तहले भरपुर तयारीमा जुट्नुपर्ने आवश्यकता छ । मनसुनजन्य विपद्को तयारीमा फितलो हुन नहुने विज्ञको जोड छ ।
विगतमा मनसुनजन्य विपद्का घटनामा स्थानीय तहको भूमिकामा प्रश्न खडा भएको थियो । कोभिड–१९ को सङ्क्रमण रोक्न स्थानीय तहले खेलेको भूमिकाको उच्च प्रशंसा हुँदै आएको छ । त्यो मनोबललाई मनसुनजन्य विपद्मा समेत परिचालन गर्न सके समस्या न्यूनिकरणमा सहयोग पुग्ने देखिन्छ।
मुलुकमा पहिरो, बाढी र डुबान एकैपटक आउँछ । अहिले कोरोनाको कहरले आक्रान्त पारेको वर्तमान समयमा अग्रपङ्क्तिमा बसेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सङ्क्रमणको सामना गरिरहेका छन् । जसका कारण विगतका वर्षमा जस्तो तयारीमा सुरक्षा निकाय जुटन सकिरहेको छैन ।
यद्यपि सुरक्षा निकायले मनसुनजन्य विपद्को तयारी पनि सँगसँगै लगेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाही भन्छन्, “कोभिड–१९ मा खटिने प्रहरी र मनसुनजन्य विपद्का खटिने प्रहरी अलगअलग हुन्छ, आवश्यक तयारीमा नेपाल प्रहरी छ ।”
मनसुनजन्य विपद्बाट क्षति रोक्ने उपाए भनेको पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दाे सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने विपद्बाट ठूलो धनजनको क्षति हुने सम्भावना हुन्छ ।
भूकम्प, रोगजन्य महामारी, सुक्खाग्रस्त समय भनेको बेलाबेलामा आउने घटना हो त्यसको पनि समय परिस्थिति बुझेर अवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित हुनुपर्छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान र आगलागीबाट क्षति रोक्न उच्च तयारी आवश्यक छ ।
वर्तमान अवस्थामा कोभिड–१९ बाट सिर्जित विपद्को सामना गरिरहेको नेपालका लागि मनसुनजन्य विपद्को तयारी गर्नु थप चुनौतीपूर्ण छ । मनसुनजन्य प्रकोपबाट हुने क्षति ठूलो छ ।
मुलुकमा पूर्वतयारी, विपद्पछिको उद्धार र राहतका योजनासहितको तयारी गरिए पनि अपूरो हुने गरेको सर्वसाधारणकै गुनासो छ । प्रकोपबाट क्षति कम गर्न सुरक्षा संवेदनशीलतालाई ख्याल गरी आवश्यकमात्रामा सुरक्षाकर्मीको तयारी जरुरी छ । सुरक्षाकर्मीलाई तालिम प्राप्त गराएर उन्नत कलाशैलीको विकास गर्नुपर्ने आवश्यकता छ । त्यसलाई अझै उन्नत बनाउने आवश्यकता रहेको विपद्विज्ञको भनाइ छ ।
नारायण ढुङ्गाना