पास विना काठमाडाैं प्रवेश गर्न खाेज्ने तीन सवारी साधन थानकाेटबाट नियन्त्रणमा
सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गर्ने तीन जना सवारी चालकहरूलाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४५८० नम्बरको हाइस गाडीका चालक बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय राहुल डबगर, झापाबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५८३४ नम्बरको यात्रुवाहक बसका चालक सुनसरी पानमरा नगरपालिका-२२ घर भएका ४० वर्षीय राकेश शाक्य र नेपालगञ्जबाट काठमाडौंतर्फ आएको ना.७ ख ७३९५ नम्बरको यात्रुवाहक बसका चालक बाँके खजुरा गाउँपालिका-२ बस्ने ३४ वर्षीय रुद्रबहादुर खत्री रहेका छन्।
ती चालकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट जारी गरेको पास तथा निजहरुको सवारी गाडीमा सवार अन्य व्यक्तिहरुको कोरोनाभाइरस पहिचान हुने पीसीआर रिपोर्ट माग्दा प्रहरीले माग गरे बमोजिमको कुनै कागजात नभएकाले ३ वटै सवारी साधनका चालकहरूलाई प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक सोधपुछको क्रममा राहुल डबगरले प्रति यात्रु २ हजार भाडा लिई ७ जना यात्रीबाट १४ हजार रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट चढाई ८ सय भाडा लिएको, राकेश शाक्यले १९ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३८ हजार
लिएको तथा रुद्रबहादुर खत्रीले १५ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २ हजारको दरले ३० हजार भाडा लिई यात्रु ओसार–पसार गरेको खुल्न आएको हो।
उक्त सवारी साधनमा सवार ४२ जना यात्रुहरूलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाउनुका साथै ३ वटै सवारी साधनका चालकहरूलाई सवारी साधन, बरामद रकम सहित संक्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बिहीबार ६ जना यात्रु बोकी नेपालगञ्जबाट थानकोटतर्फ आउँदै गरेको बा.४ ख ७३७३ नम्बरको हाइसका चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-४ घर भएका ३३ वर्षीय विकास शर्मालाई पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाएको थियो।