यस्तो देखियो काठमाडौंबाट सूर्य ग्रहण (तस्वीरहरु)
आज बिहान १०:५३ बजेदेखि साढे तीन घण्टासम्म सूर्यग्रहण लागेको छ। १०:५३ बजेदेखि शुरु भएको ग्रहण दिउँसो २:२४ मा समाप्त भएको छ।
आज खग्रास अर्थात सूर्य पूरै ढाकिने ग्रहण भए पनि नेपालबाट भने खण्डग्रास अर्थात् केही भाग ढाकिएको मात्र देखिएको थियो। बाल्मिकी क्याम्पस ज्योतिष विभागका उपप्राध्यापक नेत्र अधिकारीका अनुसार, ग्रहण मध्याह्न १२:४० मा मध्य हुँदा काठमाडौंबाट सूर्य करीब ८८ प्रतिशत ढाकिएको देखिएको थियो।
माथिका यी दुई तस्वीर दिउँसो सवा १ बजे काठमाडौं उपत्यकाको कीर्तिपुरबाट खिचिएको हो।
सूर्यग्रहण खाली आँखाले हेर्दा दृष्टि गुम्न समेत सक्ने भएकाले सुरक्षात्मक पद्धतिबाट ग्रहण हेर्न मानिसहरु कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालय पुगेका थिए।
नेपालबाट अबको करीब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने खगोलविद्हरुले बताएका छन्। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गई चन्द्रमाको छायाँ पृथ्वीमा पर्नुलाई नै सूर्य ग्रहण भनिन्छ।