प्रज्ञा-प्रतिष्ठानले स्थगन गर्यो राष्ट्रिय कविता महोत्सव
नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औं वार्षिकोत्सवका अवसरमा ९ असारमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ।
कोरोनाभाइरस (कोभिड–१९) को महामारी र बन्दाबन्दीका कारण ९ असारमा गरिने विभिन्न कार्यक्रमका साथै कविता महोत्सव हाललाई स्थगन गरिएको प्रज्ञा–प्रतिष्ठानले एक सूचना प्रकाशन गरी जनाएको हो।
जारी सूचनामा महोत्सवका लागि २५ जेठसम्म कविता पठाउन आह्वान गरिएकोमा प्राप्त कविताहरुलाई गोप्य लाहाछापसहित खामबन्दी गरी सुरक्षित राखिएको उल्लेख गरिएको छ। कोरोनाभाइरसको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसबारे सार्वजनिक सूचना मार्फत पूर्वजानकारी गराइने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले जारी गरेको सूचनामा उल्लेख छ।
प्रतियोगिताका लागि बुझाइएका कविताहरू कार्यक्रम सम्पन्न नहुन्जेल विद्युतीय वा छापा लगायत कुनै पनि माध्यमबाट प्रसारण, प्रकाशन वा सार्वजनिक नगर्न समेत कविहरूलाई आग्रह गरिंदै त्यसो गरेको पाइए प्रतियोगितामा नसमेटिने उपाध्यायले बताएका छन्।
प्रतिष्ठानका अनुसार, महोत्सवका लागि ५०२ वटा कविता आएका छन्।