कोरोनाभाइरस संक्रमणबाट विदेशमा १३० नेपालीको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट विदेशमा अहिलेसम्म १३० नेपालीको मृत्युु भएको छ । यो साता कतारमा तीन नेपालीको मृत्यु भयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो नौ सातामा कोरनाभाइरसबाट १३० नेपालीको मृत्यु भएको हो । हालसम्म १३ देशमा कोरोनाभाइरसबाट नेपालीको मृत्यु भएको छ । बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेनलगायत देशका नेपालीको मृत्यु भएको हो ।
एनआरएनए स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपाली संक्रमण मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायत १८ देशमा बस्ने नेपाली संक्रमणबाट मुक्त भएका हुन् ।
स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यही साता अफ्रिकी मुलुकमा रहेका चार नेपालीमा संक्रमण पुष्टि भएको छ ।
नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।