कोरोनाभाइरसबाट ५० हजारको मृत्यु हुने दोस्रो देश बन्यो ब्राजिल
कोरोनाभाइरस संक्रमणबाट ब्राजिलमा ५० हजारभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार ५८ पुगेको छ ।
विश्वमा कोरोनाभाइरसबाट बढी मृत्यु हुने देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । सबैभन्दा बढी अमेरिकामा एक लाख २१ हजार ९८० जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा रहेको बेलायतमा ४२ हजार ५८९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा संक्रमण र मृत्युदर तीव्र छ । त्यहाँ अहिलेसम्म १० लाख ७० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । तीमध्ये पाँच लाख ४३ हजार १४३ जना निको भएका छन् ।
शुक्रबार एकै दिन ५५ हजार २०९ जना संक्रमित फेला परेका थिए । यो कुनै पनि देशमा अहिलेसम्म एकै दिन संक्रमित भेटिएको सबैभन्दा ठूलो संख्या हो ।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएको देश पनि ब्राजिल नै हो । अमेरिकामा २३ लाख ३० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । तेस्रो धेरै संक्रमित रुसमा भेटिएका छन् । त्यहाँ करीब पाँच लाख ७७ हजार संक्रमित भेटिएका छन् ।
ब्राजिलमा संक्रमित बढेसँगै अस्पतालहरु भरिएका छन् । त्यहाँ अस्पतालहरुलाई बिरामी व्यवस्थापनमा समस्या परिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।