प्रदेश ५ का सबै सरकारी कार्यालयमा नेपाली फर्निचर मात्र प्रयोगमा ल्याइने
प्रदेश नम्बर ५ सरकारले प्रदेशका कार्यालयहरूमा नेपाली काठ तथा नेपाली श्रमबाट बनेका फर्निचर मात्र प्रयोगमा ल्याउने भएको छ।
प्रदेश नम्बर ५ को आर्थिक मामिला मन्त्रालय समेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोख्रेलले आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषणका क्रममा प्रदेशका कार्यालयहरूमा स्वदेशी काठ र श्रमबाट बनेका सामग्री मात्र प्रयोगमा ल्याउने घोषणा गरेका हुन्।
स्वदेशी वस्तुहरूको प्रवर्द्धन र रोजगारी वृद्धिका लागि प्रदेशका कार्यालयहरूमा स्वदेशी श्रम र सीपबाट बनेका काठजन्य सामग्री प्रयोगमा ल्याउने व्यवस्था मिलाइएको मन्त्री पोख्रेलले उल्लेख गरेका छन्।
त्यसैगरी प्रदेश सरकारको बजेटबाट निर्माण हुने भवनहरूको डिजाइनमा झ्याल ढोका नेपाली काठकै हुनुपर्ने व्यवस्था पनि प्रदेश सरकारले गरेको छ।
त्यसैगरी स्वदेशी उत्पादनको उपयोग गर्ने बानी बसाल्न तथा स्थानीय उत्पादन र रोजगारी वृद्धि गर्न अल्लो ढाका जस्ता स्थानीय कपडा तथा छाला जुत्तालाई प्रयोगमा ल्याउने नीति अंगालिएको छ।
ढाका र अल्लो तथा नेपाली छाला जुत्तालाई विद्यालयका शिक्षक तथा विद्यार्थीको पोशाकका रुपमा प्रयोगमा ल्याउने विद्यालयलाई नगद प्रोत्साहन दिने प्रदेश सरकारले घोषणा गरेको छ।
प्रदेशमा सञ्चालनमा रहेका इँटाभट्टा, सिमेन्ट कारखाना र प्लाइउड काराखानामा काम गर्ने विदेशी कामदारहरू फर्केपछि रिक्त हुन आएका करीब ५० हजार विदेशी कामदारको स्थानमा स्वदेशी कामदारलाई रोजगारी दिलाउने प्रदेश सरकारको योजना छ।
त्यसका निम्ति स्वदेशी कामदारहरूलाई सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप सम्बन्धित उद्योगको सहकार्यमा कार्यक्षेत्रगत तालिम प्रदान गरी काममा लगाउन प्रदेश सरकारले बजेट समेत व्यवस्था गरेको छ।