दैलेखमा पीसीआर मेशिन, तीन दिनभित्र परीक्षण
पीसीआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोली सहित पीसीआर मेसिन दैलेख लगिएको छ।
कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि रु. एक करोड खर्चेर मेसिन खरीद गरिएको हो। अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि लगिएको छ।
डा. रवीन खड्का सहित आठ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियन लगायत छन्। पीसीआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहसहितको टोलीले गर्नेछ।
शुरुमा दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ। कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले जनतालाई कोरोना संक्रमणबाट बचाउन करीब रु. ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण पनि शुरु गरिएको जानकारी दिए।
कामको खोजीमा भारत गएका दैलेखका ४२ हजार नागरिक जिल्ला भित्रने क्रम बढेको छ। दैलेखमा आएर क्वारेेन्टिनमा बसेकामध्ये अधिकांशको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख रेडजोनमा परेको छ। दैलेखमा ७२३ जनामा कोरोना संक्रमण देखिएको छ।