भोकमरीग्रस्त क्षेत्रमा बस्छन् ८० प्रतिशत शरणार्थी
-गोपाल गडतौला, पेन्सिलभेनिया
संयुक्त राष्ट्रसंघको शरणार्थी सम्वन्धी उच्च आयोग (युएनएचसिआर) अनुसार हाल विश्वमा सात करोड ९५ लाख मानिस आफ्नो थातथलोबाट जबर्जस्ती विस्थापित गराइएका छन् । यो संसारभरिको कूल जनसंख्याको करीब एक प्रतिशत हो । यी मानिस शासकीय अत्याचार, जातीय, धार्मिक तथा राजनीतिक हिंसा आदिका कारण विस्थापित भएका हुन् ।
प्रत्येक वर्ष यसरी विस्थापत हुनेहरुको संख्या विश्वभरि नै बढिरहेको छ । सन् १९९० को दशकको अन्त्यसम्ममा यो संख्या चार करोडको हाराहारीमा थियो । तर, अहिले दोब्बर भइसकेको छ । सन् २०१०—२०२० को दशकमा मात्र करीब चार करोड मानिस विस्थापित भएका छन् । विस्थापितमध्ये ४० प्रतिशत १८ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
सन् २०१९ मा भने संसारभरि ५६ लाख मानिस आफ्नो पुर्ववत् ठेगानामा फर्कन सफल भएका छन् । तर तीमध्ये ५३ लाख आन्तरिक विस्थापित थिए । करीब तीन लाख १७ हजार मात्र अर्काे मुलुकको शरणागत जीवनबाट आफ्नो थलो फिर्न सके । यसले देखाउँछ कि शरणार्थी भएर अर्काे मुलुक गएका व्यक्ति आफ्नै देश फर्किने सम्भावना कम र कठिनाइपूर्ण छ ।
पछिल्ला वर्ष विस्थापित तथा शरणार्थीको फिर्तीको क्रम निकै घटेको छ । सन् १९९० को दशकमा वार्षिक सरदर १५ लाख विस्थापितहरु घर फर्किएका थिए । सन् २०१० को दशकमा त्यो संख्या घटेर तीन लाख ९० हजारमा झरेको छ ।
शरणार्थीहरुले उथलपुथलपुर्ण घट्नाक्रमहरुबाट आफूलाई गुजार्नु परिरहेको छ । उनिहरु अनिश्चय र अन्धकारको भुँमरीमा हुन्छन् । भविष्य निर्माणको अवसरबाट टाढा हुन्छन् । उनीहरुलाई अवसरको भागिदार बनाउन पर्याप्त लचकता र उदारताको खाँचो छ । शरणागत तथा विस्थापन भएकाहरुको मानवीय क्षमताको कदर तथा उपयोगका लागि सम्भव सबै ढोका खोलिन जरुरी छ । तर त्यसका लागि विश्वका कतिपय मुलुकमा भइरहेको अन्त्यहीन लाग्ने द्वन्द्वको समाधान विधि पहिल्याउन जरुरी छ ।
विश्वका कूल शरणार्थीमध्ये करीब चार करोड ५७ लाख मानिस आफ्नो मुलुकभित्रै विस्थापनको कहर भोगिरहेका छन् । दुई करोड ९६ लाख मानिस अन्य मुलुकमा शरणार्थी बन्न बाध्य पारिएका छन् । ४२ लाख मानिस शरणार्थीको रुपमा हुने दर्ताको पर्खाइमा छन्, तिनिहरु पनि अन्य मुलुकमा छन् ।
अघिल्लो दशकमा द्धन्द्धग्रस्त सिरियाबाट मात्र करीब एक करोड ३२ लाख मानिस शरणार्थी बनेका छन् । यो विश्वका कूल शरणार्थी संख्याको करीब १७ प्रतिशत हो । गएको एक दशकमा विश्वका १० करोड मानिस विस्थापित भएका थिए । यो विश्वको चौधौं ठुलो जनसंख्या भएको मुलुक इजिप्टको जनसंख्या बराबर हो ।
शरण दिने पाँच ठूला मुलुक
अर्काे मुलुकबाट आएकाहरुलाई आश्रय दिनु ठूलो मानवीय कार्य हो । धेरै शरणार्थीलाई आश्रय दिने मुलुकहरुमा टर्की, कोलम्बिया, पाकिस्तान, युगाण्डा र जर्मनी छन् । टर्कीमा ३६ लाख, कोलम्बियामा १८ लाख, पाकिस्तान र युगाण्डा प्रत्यकेमा १४ लाख र जर्मनीमा ११ लाख शरणार्थीले आश्रय लिइरहेका छन् ।
यी सबै मुलुक सम्पन्न र विकसित होइनन् । धेरैले आफैँ राजनीतिक वा अन्य किसिमको संकट भोगिरहेका छन् । गम्भीर कुरा त के भने हरेक पाँच विस्थापित तथा शरणार्थीमध्ये चार जना अर्थात ८० प्रतिशत खाद्य सुरक्षाको दृष्टिमा निकै कमजोर तथा कुपोषणग्रस्त मुलुक तथा क्षेत्रमा छन् ।
हरेक १० मध्ये आठभन्दा बढी शरणार्थी (८५ प्रतिशत) विकासोन्मुख देशमा छन् । सामान्यतया उनीहरू छिमेकी देशबाट विस्थापन भएका हुन । सिरिया, भेनेजुयला, अफगानिस्तान, दक्षिण सुडान र म्यान्मारबाट बढि संख्यामा मानिसहरु विस्थापित भएका छन् । सिरियाका मात्र ६६ लाख मानिस अन्य मुलुकमा शरणार्थी छन् । त्यस्तै, भेनेजुयलाबाट ३७ लाख, अफगानिस्तानबाट २७ लाख, दक्षिण सुडानबाट २२ लाख र म्यान्मारबाट ११ लाख मानिस शरणार्थी भएको युएनएचसिआरले जनाएको छ ।
वितेको एक वर्षमा विश्वभरमा एक लाख आठ हजार शरणार्थीले तेस्रो देश पुनर्वास हुन पाए । यो एकदमै न्यून संख्या हो । यद्यपि २६ मुलुकले सानो संख्यामा भए पनि शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराएका छन् ।
नेपालले भोगेको शरणार्थी समस्या
नेपालले शरणार्थीको सबैभन्दा ठूलो बोझ सन् १९९० पछि भुटानबाट ब्यहोर्नु प¥यो । आफ्नो देशबाट खेदिएर एक लाख हाराहारी नेपालीभाषी भुटानी नेपालको झापा र मोरङ आइपुगे । उनीहरु पाँच ठाउँका सात वटा शिविरमा राखिए ।
उनीहरुको बसाइ निकै कष्टपुर्ण थियो । भुटानी शरणार्थीलाई घर फर्काउन नेपाल र भुटानले १५ पटक वार्ता गरे । शुरुका केहि वार्ता गृह र पछि परराष्ट्रमन्त्री तहमा भएका थिए । तर भुटानको अनिच्छा र अर्घेल्याइँका कारण सन् २००१ मा प्रमाणिकरण भइसकेका खुदुनाबारी शिविरका शरणार्थीको फिर्ती प्रक्रिया शुरु हुनै सकेन । अरु ६ वटा शिविरको त प्रमाणिकरण समेत भएन ।
वार्तामा भुटान असहमत हुने योजनासाथ पेश हुने गरेको नेपाली अधिकारीहरुले बताउने गरेका छन् । नेपालका हालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०५१/५२ सालमा दुईपटक नेपाल भुटान वार्तामा गृहमन्त्रीको रुपमा नेपाली टोलीको नेतृत्व गरेका थिए । २०७२ सालमा एक लाख भुटानी शरणार्थी पुनर्वास भएको अवसरमा काठमडौंमा आयोजित एक समारोहमा उनले भनेका थिए, “भुटान कतिसम्म आलटाल गर्न, अनुदार हुन र गैरजिम्मेवार बन्न सक्दोरहेछ भन्ने मलाई थाह छ ।” अझै पनि झापा र मोरङका दुई वटा शिविरमा ६ हजार ५०० भुटानी शरणार्थी छन् ।
करीब सात लाख जनसंख्या भएको भुटानले आफ्ना करीब १७ प्रतिशत अर्थात ६ भागको एक भाग नागरिक खेदेको थियो । भारतीय आडभरोसा पाएको भुटान कुटिल कुटनीतिको माध्यमबाट यो समस्याबाट पन्छिरहेको छ । नेपालसँगको वार्ता प्रक्रिया अवरुद्ध भएको ७ वर्षपछि भुटानी शरणार्थीहरु अमेरिका लगायतका आठ देशमा पुनर्वास भए । पुनर्वास भएका भुटानीहरु आफ्नो शरणागत जीवनलाई दुखी, निराश र बर्बाद विगतको रुपमा स्मरण गर्छन् ।
नेपालमा सन् १९६० को दशकमा उत्तरबाट आएका तिब्बतीले शरण लिएका थिए । अझै पनि काठमाडौं, पोखरा, सोलुखुम्बु, ताप्लेजुङ लगायत देशका ११ स्थानमा तिब्बती शरणार्थी छन् ।
नेपालमा बर्माबाट पनि नेपाली भाषी शरणार्थी बनेर आएका थिए । तर नेपालले उनीरुलाई पुनस्र्थापित गरेको थियो । १९ फागुन २०१८ मा जनरल ने विनले बर्मा (हालको म्यान्मार) मा उ नु नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता पलट गरेपछि विस्थापित भएका करिव दुई लाख नेपाली भाषीलाई झापादेखि पश्चिमको महेन्द्रनगर आसपाससम्म जमिन दिएर राखियो । यो पुनसर््थापनाको कार्य तात्कालिन राजा महेन्द्रको अग्रसरतामा भएको बताइन्छ ।