दक्षिण एसियाका तीन देशमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाखभन्दा बढी
दक्षिण एसियाका देश पनि कोरोनाभाइरस संक्रमणको सूचीमा माथिल्लो स्थानमा पुगेका छन् । भारत र पाकिस्तानपछि बंगलादेशमा संक्रमितको संख्या एक लाख नाघेको छ ।
बंगलादेशमा अहिलेसम्म एक लाख पाँच हजार ५३५ संक्रमित फेला परेका छन् । त्यहाँ ४२ हजार ९४५ जना निको भएका छन् भने एक हजार ३८८ जनाको मृत्यु भएको छ ।
विश्वमा बढी संक्रमित भेटिएका देशको सूचीमा बंगलादेश १७औँ स्थानमा छ । अहिलेसम्म १८ वटा देशमा संक्रमितको संख्या एक लाख नाघेको छ । १८औँ स्थानमा क्यानडा छ ।
पछिल्लो तीन दिनमा बंगलादेशमा करीब १२ हजार संक्रमित फेला परेका छन् । दक्षिण एसियाकै बढी जनघनत्व भएको यो देशमा दैनिक मृत्युदर ४० को हाराहारीमा छ । गत बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५३ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियाको अर्को देश पाकिस्तानमा संक्रमितको संख्या एक लाख ६५ हजारभन्दा बढी पुगिसकेका छन् । बढी संक्रमित भएका देशको सूचीमा पाकिस्तान १४औँ नम्बरमा छ ।
पाकिस्तानमा अहिलेसम्म ६१ हजार ३८३ जना निको भएका छन् भने तीन हजार २२९ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिन यहाँ नयाँ संक्रमित भेटिने दर घट्दो अवस्थामा छ । दैनिक संक्रमित हुनेको संख्या औषत साढे पाँच हजारभन्दा बढी छ ।
दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित भारतमा छन् । अहिलेसम्म तीन लाख ९५ हजार ८१२ जना संक्रमित भेटिइसकेका छन् । बढी संक्रमित भेटिने देशमध्ये भारत चौँथो स्थानमा छ । अहिलेसम्म दुई लाख १४ हजार २०६ जना निको भएका छन् भने करीब १३ हजार जनाको मृत्यु भएको छ ।
यी तीन देशपछि दक्षिण एसियामा बढी संक्रमित नेपालमा छन् । नेपाल विश्वमा भने सूचीको ६९औँ स्थानमा छ । नेपालमा अहिलेसम्म आठ हजार २७४ संक्रमित फेला परेका छन् । तीमध्ये एक हजार ४०२ निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ।
नेपालपछि सूचीमा माल्दिभ्स छ । त्यहाँ दुई हजार १५० जना कूल संक्रमित भेटिएका छन् । तीमध्ये १७६९ जना निको भएका छन् । माल्दिभ्स ९९औँ स्थानमा छ ।
श्रीलंका सूचीको १०३औँ स्थानमा छ । त्यहाँ एक हजार ९५० जना संक्रमित छन् । तीमध्ये एक हजार ४४६ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको छ । ६७ जना संक्रमित भेटिएको भुटान विश्वमा १८३औँ नम्बरमा छ ।