सुरक्षाकर्मीलाई छलेर यात्रु ओसार्न थालेपछि राति हिंडडुलमा प्रतिबन्ध
गृह मन्त्रालयले सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति विना यात्रु ओसारपसार भएको सूचनापछि अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ।
कोरोना सङ्क्रमणबाट कम प्रभावित क्षेत्रमा १ असारदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै पैदल र सवारी दुवै यात्रामा रोक लगाएको हो । मन्त्रालयले मापदण्ड पालना गराउन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रिपरिषद्को २८ जेठको बैठकले बन्दाबन्दी खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्नका लागि सुरक्षा मापदण्ड बनाउन गृहलाई निर्देशन दिएको थियो । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू छ।
मापदण्ड उल्लङ्घन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रामक रोग रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानून बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ।
मापदण्ड अनुसार विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन पाउने छैनन् । यस्तै कार्यस्थल, सार्वजनिक स्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्न र नियम पालनाको कडाइका साथ अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न पाइने छैन । उद्योग कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन।