मल अभावमै कैलाली कञ्चनपुरमा धमाधम रोपाइँ
उन्नती चौधरी, कैलाली
कैलाली र कञ्चनपुरका किसानहरु धमाधम रोपाइँ गर्न लागेका छन् । अनुदानको रासायनिक मल अभावकै बीचमा किसानहरुले आधा रोपाइँ गरिसकेका छन् । काेराेनाका कारण अनुदानको रासायनिक मल नपाउँदा महंगो मूल्यमा मल किनेर रोपाइँ गरेको किसानहरु बताउँछन्।
कैलारी गाउँपालिका ८ की गंगा चौधरी अनुदानको रासायनिक मल नपाउँदा महंगो मूल्यमा मल किनेर रोपाइँ गरेको बताउँछिन्।
धनगढी उपमहानगरपालिका १६ का तृप्ति चौधरी पनि अनुदानकै मल नपाएर रोपाइँ सकिसकेको बताउँछिन् । उनले थोरै रासायनिक मल र केही घरमा बनाइएको कम्पोष्ट मल हालेर खेती गरिरहेको बताउँछिन्।
कृषि सामग्री कम्पनीले कृषि सहकारीलाई प्रति क्विन्टल युरिया एक हजार ६५२, डीएपी प्रतिक्विन्टल चार हजार पाँच सय ५२ र पोटास प्रतिक्विन्टल तीन हजार तीन सय ५२ रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ।
कैलारी गाउँपालिका आसपासका क्षेत्रमा किसानहरूले सरकारी अनुदानको मल नपाएपछि युरिया प्रति क्विन्टल दुई हजारदेखि दुई हजार आठ सय, डीएपी पाच हजारदेखि ६ हजार रुपैयाँ सम्ममा किन्न बाध्य भएको बताउँछन् कैलारी गाउँपालिका ८ दुधियाका भल्मन्सा राजाराम चौधरी।
कृषि सामग्री केन्द्रले निर्धारण गरेको मूल्यमा युरिया डीएपी, पोटास मलको बिक्री गर्दा सहकारी संस्थालाई कृषि सामग्री कम्पनीले ढुवानी सहितको व्यवस्था गरेको हुन्छ।
प्रतिक्विन्टल ६० देखि ७० रुपैयाँ ढुवानी अनुदान रहेको रासायनिक मलमा लोडअनलोड भने कृषि सहकारी संस्थाहरु आफैले गरेका हुन्छन् । तर अहिले असामान्य अवस्था भएकाले प्रति क्विन्टल ९० देखि एकसय रुपैयाँ ढुवानी भाडा र लोड अनलोड ३२ रुपैयाँ खर्च लाग्ने गरेको सहकारी संस्थाहरुको दाबी छ।
कृषि सामग्री कम्पनीको निर्धारित मूल्य भन्दा ढुवानी भाडा थप गरी केही रकम बढाएर सहकारी संस्थाहरुले बेच्न पाउँछन् । तर बन्दाबन्दीको बेला ढुवानी महँगो भएको भन्दै मल विक्रेता सहकारी संस्थाले केही मूल्य बढाएर मल बेच्नु पर्ने बाध्यता रहेको पशुपति विद्युत सहकारीका प्रबन्धक प्रमोद चौधरीले बताए।
कैलालीमा ९५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ३९ हजार हेक्टरमा धान खेती हुने गरेको छ । त्यसका लागि ४ हजार टन युरिया र ३ हजार डीएपी मल आवश्यक पर्छ।