टेकुमा डेरावालकाे लाइन, हस्पिटललाई भ्याईनभ्याई
सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गरेपछि काठमाडौंमा खानबस्न समस्या हुने र डेरामा केटाकेटीसहितको परिवार टिक्न गाह्रो हुने सोचेर १० चैतमै घट्टेकुलो बस्ने राजाराम सापकोटा गृहजिल्ला काभ्रे गए।
बन्दाबन्दी लम्बिदै गएपछि र सरकारले बिहान १० बजेसम्म अत्यावश्यक आवश्यकतासहितका पसल खोल्न दिने भएपछि घट्टेकुलोमा डेरी पसल सञ्चालन गर्दै आएका सापकोटा १५ जेठमा काठमाडौं फर्किए।
काभ्रेबाट परिवारसहित आएका सापकोटालाई आफ्नो घरभेटीभन्दा अगाडि छिमेकीले देखे । सापकोटा बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गरेकाले कोरोना संक्रमित हुनसक्ने आशंकामा छिमेकीले परीक्षण विना घरभित्र पस्न मिल्दैन भने।
डेराको घरमा पस्न नपाएपछि सापकोटा नजिकैकाे वडा प्रहरी कार्यालय पुगे । प्रहरीले सम्बन्धित वडा कार्यालयमा जान सुझाव दिए।
सोही सुझाव अनुसार सापकोटा वडामा गएर अफ्नो यात्रा विवरण टिपाएर थप १४ दिन क्वारेन्टिनमा बस्ने शर्तमा घरभित्र छिर्ने अनुमति बोकेर आए।
कालिमाटी टंकेश्वरमा फेन्सी पसल सञ्चालन गर्दै आएका धादिङका नवराज बास्कोटा पनि १२ जेठमा नै काठमाडौं आए।
लामो समय बन्दाबन्दी भइरहे पनि मासिक कोठा तथा पसलभाडा तिर्नुपर्ने र अत्यावश्यक खर्चको जोहो गर्न समस्या हुन थालेपछि बास्कोटा सरकारले तोकेअनुसार बिहान १० बजेसम्म पसल खोल्न पाइन्छ कि भनेर काठमाडौं आएका थिए।
भीमसेनस्थानमा डेरी पसल गरी बस्ने बास्कोटालाई कोरोना परीक्षण विना घरभेटीले भित्र पस्न नदिने भनेपछि बास्कोटा १४ दिन डल्लुस्थित दिदीकोमा क्वारेन्टिनमा बसे।
त्यसपछि पनि घरभेटीले परीक्षण रिपोर्ट विना भित्र पस्न नदिने अडान कसेकाले बास्कोटाले टेकु पुगेर ल्याएको परीक्षण रिपोर्टले मात्रै घरभित्र छिर्ने अनुमति पाए।
‘‘एक सातादेखि हस्पिटल आउने बिरामी भन्दा पनि घरभेटीसँगको समस्या लिएर आउने धेरै भएका छन् । टेकुमा परीक्षण गर्न आउनेमा ५० प्रतिशत भन्दा बढी डेरामा पस्नका लागि अनुमति चाहिएको भन्दै आउने सर्वसाधारण छन्।’’
पाँचखालका रमेश राई टेकुको एक पसलमा काम गर्छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि अब काम हुन्छ भनेर १ असारमा काठमाडौं आए तर राईलाई काममा जान भने स्वास्थ्य परीक्षण आवश्यक पर्यो।
२ असारमा राई टेकु अस्पताल गएर सामान्य परीक्षणपछि नै अब कोरोनाको संक्रमण नभएकाले डाक्टरले १४ दिन क्वारेन्टिनमा बस्नु भनेको भन्दै डेरातर्फ लागे।
बन्दाबन्दी अगाडि खोटाङ गएकी ललितपुरकी रश्मि राई पनि १ असारको साँझ काठमाडौं आइपुगिन् । राईले भनिन्,‘‘कसैको दबाब नभए पनि घरभित्र पस्न परीक्षण गर्नुपर्ने भन्ने हल्ला बढेपछि २ असारमा टेुक पुगेर परीक्षण गराएर आएँ ।’’
राईका अनुसार आफू संक्रमित रहित भएर त्रासरहित अवस्थामा बस्न तथा अझै सचेतना अपनाउन पनि परीक्षणमा जानुपरेको हो।
बाराबाट ३ असार दिउँसो काठमाडौं आइपुगेका सुकेन्द्रकुमार साह कुलेश्वरस्थित आफ्नो डेरामा नपसी सीधै हस्पिटल पुगे । साहले भने ‘‘घरभेटीले कोरोना परीक्षण विना भित्र पस्न नदिने भनेका छन् । त्यसैले घरमा नगई सीधै हस्पिटल आएको हुँ ।’’ साह भन्छन्, ‘‘डेरामा गएपछि पनि होम क्वारेन्टिनमा बस्नुपर्छ भनेका छन्।
अब बन्दाबन्दी खुकुलो हुँदै गएकाले दैनिकी चलाउन पनि काठमाडौं आउनुपर्ने र आफ्नो गुजारा चलाउने व्यवसाय यतै भएकाले घरभेटीको शर्त मान्न तयार पनि भएको छु।
बन्दाबन्दी शुरु भएपछि डेढ महीना अघि बारा गएका साहको कुलेश्वरमा गाडी मर्मतका लागि आवश्यक पार्टपुर्जा बिक्री गर्ने पसल छ । पसल खुल्ने र अब व्यापार हुने आशामा काठमाडौं आएको साह बताउँछन्।
निर्माण कार्यमा संलग्न रानीबारीका मोहनबहादुर केसी पनि ३ असारमै सिन्धुपाल्चोकबाट श्रीमती सहित सीधै टेकु अस्पताल हान्निए । उनलाई पनि घरभेटीले भित्र पस्न नदिने भनेपछि श्रीमान| श्रीमतीसँगै परीक्षणको निम्ति हस्पिटल पुगेका हुन्।
केसी दम्पती पनि हस्पिटलले दिएको सामान्य परीक्षणको रिपोर्टलाई घरभित्र पस्ने अस्त्र मानेर रानीवारीस्थित डेरातर्फ लागे।
यी प्रतिनिधिमूलक पात्र जस्तै बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं प्रवेश गरेका सर्वसाधारण दैनिक नौ सयको हाराहारीमा परीक्षणका निम्ति आउने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए ।
उनले भने ‘‘एक सातादेखि हस्पिटल आउने बिरामी भन्दा पनि घरभेटीसँगको समस्या लिएर आउने धेरै भएका छन् । टेकुमा परीक्षण गर्न आउनेमा ५० प्रतिशत भन्दा बढी डेरामा पस्नका लागि अनुमति चाहिएको भन्दै आउने सर्वसाधारण छन्।’’
हस्टिपलका अनुसार बिहान ६\७ बजेदेखि नै हुने लाइन दिउँसोसम्म नै उस्तै हुन्छ । धेरै मान्छेको भीडभाड हुने र परीक्षण गर्न एउटै हस्पिटलमा आउनेको समस्याको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ।
लक्षण नदेखिएका, सामान्य अवस्थाका सर्वसाधारण घरभित्र पस्न मात्रै परीक्षण गर्नुपर्ने कारणले टेकु हस्पिटलमा भीडभाड बढाएको छ ।
सामान्य परीक्षण समेत सबै हस्पिटलले नगर्दा समस्या
सर्वसाधारणको यात्रा विवरण र लक्षण देखिएकाको मात्रै कोरोना परीक्षण गर्न पठाउने अन्यथा सबैलाई सामान्य परीक्षण गर्ने गरिएको छ।
लक्षण नदेखिएका, सामान्य अवस्थाका र प्रभावित क्षेत्रबाहेकका सर्वसाधारणलाई कोरोना परीक्षण आवश्यक नरहेकाले १४ दिन होम क्वारेन्टिनमा नै बस्ने गरी पठाउने गरिएको जानकारी पनि डा. राजभण्डारीले दिए।
कोरोना परीक्षण गर्नैपर्ने, उच्चपदस्थ व्यक्ति, सरकारी कर्मचारी, संसद सचिवालयमा काम गर्नेदेखि भीआईपीसम्मको पहुँचमा भएकालाई भने कोरोना परीक्षण गरेर रिपोर्ट नै उपलब्ध गराउनुपर्ने टेकु हस्पिटलले बताएको छ।
यसरी रिपोर्ट नै अवाश्यक पर्ने व्यक्ति दैनिक १५० देखि २०० जनासम्म आउने गरेका छन् । हस्पिटलले पनि आवश्यक आवश्यकताका आधारमा दैनिक २०० जनाभन्दा बढीको कोरोना परीक्षण गर्ने गरेको जानकारी पनि टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए।
राजभण्डारी भन्छन्, ‘‘लक्षण नदेखिएका, सामान्य अवस्थाका सर्वसाधारण घरभित्र पस्न मात्रै परीक्षण गर्नुपर्ने कारणले टेकु हस्पिटलमा भीडभाड बढाएको छ ।" यस्तो भीड एक सातादेखि दिनहुँ बढ्दै गएको छ । अझै काठमाडौं बाहिरबाट आउनेको संख्या बढेसँगै भीड नियन्त्रण गर्न नै गाह्रो हुने गरी कोरोना परीक्षणका नाममा लाइन शुरु हुन थालेको छ ।
राजभण्डारी भन्छन्, ‘‘सामान्य परीक्षण अन्य हस्पिटलबाट पनि हुने हो भने टेकुमा मात्रै भीड बढ्दैनथ्यो । सरकारले सहजीकरण गर्ने र अरुले हस्पिटलले पनि डेराभित्र पस्नका लागि मात्रै परीक्षण गरिदिने हो भने पनि सबैलाई सहज हुन्थ्यो।’’
टेकु हस्पिटलका प्रवक्ता डा. अनुप बास्तोला काठमाडौं नजिकका धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकसहितका काठमाडौं नजिकबाट आउनेको संख्या बढेसँगै हस्पिटल आउने पनि बढेका हुन् ।
बास्तोला भन्छन्, ‘‘घरभित्र पस्नका लागि मात्रै पीसीआर रिपोर्ट दिइएको छैन् । शंका लागेका र परीक्षण आवश्यक भएको अवस्थामा मात्रै कोरोना परीक्षण गर्ने गरिएको छ ।’’
डा. बास्तोलाका अनुसार मनाङबाट आउनेको तुलनामा दिल्लीबाट आएकाको जोखिम बढी हुन्छ । त्यसैले सामान्य चेकजाँचमा हुने हस्पिटलको भीड नियन्त्रण गर्न नसक्ने गरी बढ्दै जान नदिन सरकारले सामान्य नागरिकको परीक्षणलाई सहज बनाउनुपर्छ।
हस्टिपलका अनुसार बिहान ६\७ बजेदेखि नै हुने लाइन दिउँसोसम्म नै उस्तै हुन्छ । धेरै मान्छेको भीडभाड हुने र परीक्षण गर्न एउटै हस्पिटलमा आउनेको समस्याको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ।
सहजताको विकल्प नखोजिए भयावह
बन्दाबन्दी अघि बाहिरी जिल्ला गएका काठमाडौंवासी उद्योग, कलकारखाना, व्यापार, व्यवसाय तथा कार्यालय सञ्चालन हुन थालेपछि फर्कने क्रम दैनिक बढिरहेको छ ।
काठमाडौं फर्कनेमध्ये पनि ७५ प्रतिशत विना सूचना आउने गरेकाले परीक्षण गरेर मात्रै घरभित्र पस्न दिनुको विकल्प नभएको काठमाडौं महानगर ५ का वडाध्यक्ष रमेश डंगोल बताउँछन्।
काठमाडौं फर्किएकाहरु वडा कार्यालयमा सिफारिशका लागि आउने र प्रवेशकै लागि सिफारिश माग्नेको संख्या बढिरहेको छ । डंगोलका अनुसार ‘‘आइतबार नक्साल बस्ने ४८ वर्षीया एक महिलालाई कोरोना पुष्टि भएपछि यो वडामा पनि प्रवेश पाउन गाह्रो भएको छ ।’’
उनी भन्छन्, ‘‘वडा कार्यालयले काठमाडौं आउन सिफारिश दिएको थियो तर बाहिरबाट आएका एक र आफ्नै टोलका एक जनालाई कोरोना संक्रमित भएपछि वडालाई सिफारिश दिन गाह्रो भएको हो । सिफारिश नदिंदा व्यापार व्यवसाय यतै भएकालाई दैनिकी चलाउनै समस्या हुने दिए संक्रमित आउँछन् भन्नेको गुनासो बढेको छ ।’’
डंगोलका अनुसार अझै एक सातापछि काठमाडौं प्रवेश गर्नेको संख्या बढेसँगै हरेक टोल र वडामा पस्न अनुमति लिनुपर्ने समस्या बढ्न सक्छ ।
त्यसैले सरकारले उच्चस्तरीय समिति मार्फत गर्ने निर्णयबाट भन्दा पनि स्थानीय तहका पदाधिकारीलाई नै जिम्मेवारी दिने र आआफ्नो वडामा बस्नेलाई क्वारेन्टिनमा बस्नेदेखि व्यवस्थित आवागमन गराउने अधिकार दिनुपर्ने बुझाइ डंगोलको छ।
उनी भन्छन्, ‘‘अहिलेलाई त काठमाडौं आउँदा तथा घरमा पस्नलाई परीक्षण गरेर मात्रै आउनु भनिएको छ । यसका लागि आगामी दिनमा संघीय सरकारले वडा कार्यालयमा नै परीक्षण गर्ने व्यवस्था गर्ने हो भने भोलिका दिनमा भीड नियन्त्रण गर्ने र हस्पिटलमा गएर दिनभर लाइन लाग्ने लगायत समस्यालाई सहजीकरण गर्न सकिन्थ्यो।’’
१ असारदेखि बन्दाबन्दी खुकुलाे गर्ने सरकारको निर्णयसँगै उपत्यका प्रवेश गर्ने यात्रु ३२ जेठदेखि १ असारसम्म मात्रै ५ हजार ७९७ जना रहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार बन्दाबन्दी खुल्ने पूर्वसन्ध्या र खुकुलाे भएको दिन १ असारमा मात्रै २ हजार ८८४ वटा सवारीसाधन काठमाडौं प्रवेश गरेका थिए।