बागलुङमा शुरु भए विद्यालय, टोलटोलमै एकीकृत कक्षा
कमल पौडेल, बाग्लुङ
कोरोनाभाइरस संक्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण देशभरको शैक्षिक कार्यक्रम ठप्प भइरहेका वेला केही स्थानीय तहले वैकल्पिक उपायबाट पढाइ शुरु गरेका छन् । ती स्थानीय तहका विद्यालयहरुले टोलटोलमा गएर कक्षा सञ्चालन गर्न थालेका हुन् ।
बाग्लुङको बडीगाड गाउँपालिका–२ स्थित त्रिभुवन माविले ४ असारदेखि टोलटोलमा कक्षा सञ्चालन गर्न थालेको छ । विद्यालयले सेवा क्षेत्रभित्र पर्ने १३ स्थानमा सिकाइ केन्द्र स्थापना गरी नजिक रहेका विद्यार्थीलाई एकीकृत गरेर कक्षा संचालन गरिरहेको छ। त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी शिक्षकहरु प्रत्येक सिकाइ केन्द्रमा पुग्न सक्ने गरी कक्षा सञ्चालनको व्यवस्था मिलाएको बताउँछन् ।
बाग्लुङकै गल्कोट नगरपालिका–८ पचुवास्थित शिव माविले पनि ११ स्थानमा वैकल्पिक कक्षा शुरु गरेको छ। प्रधानाध्यापक हरि चालिसे स्थानीय विद्यालय र खाली रहेका घरलाई व्यवस्थित गरेर बिहान १० देखि दिउँसो १ बजेसम्म कक्षा संचालन गर्ने व्यवस्था मिलाएको बताउँछन्।
“कोरोनाभाइरसको महामारी फैलिनुअघि विद्यार्थी विद्यालय धाएर अध्ययन गर्नुपर्थ्याे,” चालिसे भन्छन्, “तर अब शिक्षक नै टोलटोलमा गएर विद्यार्थीलाई सहज हुने गरी कक्षा सञ्चालन गरेका छौँ।”
गल्कोट नगरपालिका–१० मा रहेको पाण्डवखानी माविका शिक्षक पनि विद्यार्थी बस्ने टोलमा पुगेर कक्षा सञ्चालन गर्न थालेका छन्।
विद्यालयका प्रधानाध्यापक नवीन सुनार टोलटोलमा विद्यार्थी जम्मा गरेर रचनात्मक क्रियाकलापसहित अध्ययन अध्यापन थालेको बताउँछन्।
शिक्षा मन्त्रालयको १ असारदेखि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार शहरका विद्यालयहरुले अनलाइनमार्फत भर्चुअल कक्षा शुरु गरेका छन् । तर, इन्टरनेटको सुविधा नभएका गाउँमा टोलमा नै पढाउने वैकल्पिक व्यवस्था भएको हो।
अहिले अधिकांश सरकारी विद्यालयलाई क्वारेन्टिन बनाइएको छ। त्यसकारण सुरक्षाका उपाय अपनाएर पनि विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नभएको प्रध्यानाध्यापकहरु बताउँछन् । त्यहीकारण टोलमा नै पढाउने अभियान थालिएको हो।
एउटा टोलको एकीकृत कक्षामा बढीमा ८० जनासम्म विद्यार्थी सहभागी हुन थालेका छन् । धेरै विद्यार्थीहरुको जमघट हुन थालेपछि भौतिक दूरी कायम गरेर बस्न र मास्क तथा स्यानिटाइजर लगाउन अनिवार्य गरिएको छ । स्यानिटाइजरको व्यवस्था विद्यालयले गरेका छन् । शिक्षकका लागि भने मास्कको पनि व्यवस्था गरेका छन्।
एउटा समुहमा धेरै विद्यार्थी हुन नदिन तालिका बनाएर पढाउन थालिएको छ । एक दिनमा दुई वटा विषयका शिक्षकले पढाउँछन्।