बागमती, गण्डकी र प्रदेश ५ का नदीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह
बिहीबार दिउसोदेखि भएको वर्षाका कारण बागमती, गण्डकी र प्रदेश ५ का नदीमा पानीको बहाव बढेको छ । रुपन्देहीको तिनाउ, कञ्चन लगायत खोलामा बहाव निरन्तर बढ्दो अवस्थामा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
रुपन्देही, पाल्पा, नवलपरासी र आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा भएपछि बुटवल भएर बग्ने तिनाउमा पानीको सतह सामान्य अवस्थाभन्दा १.५ मिटर बढेको छ । तिनाउ र कञ्चन लगायत खोलामा पानीको सतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।
बिहीबारदेखि भएको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पनि पानीको बहाव बढेको छ । उपत्यकाका बागमती र यसका सहायक नदी विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतमा बहाव बढ्दो अवस्थामा छ । उपत्यकामा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
गोंगबुस्थित विष्णुमतीमा बिहीबार साँझ साढे ९ बजेसम्ममा पानीको सतह सामान्य अवस्थामा भनदा १.३ मिटरले बढेको छ । उपत्यकाको नदीतटीय क्षेत्रको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बिहीबार साँझ ८ बजेसम्ममा गण्डकी प्रदेशका केही जिल्लामा भएको मध्यम वर्षाले आसपासका नदीको सतह बढेको छ । गोरखाको अधिकांश स्थानमा भने भारी बर्षा भएको छ । त्यहाँका दरौदी, बुढीगण्डकी, चेपे लगायत नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।