चीनबाट ल्याइएको स्वास्थ्य सामग्री टोखामा वितरण
चीनको नाग्छु नगरपालिकाबाट ल्याइएको स्वास्थ्य सामग्री काठमाडौंको टोखा नगरपालिकामा वितरण गरिएको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न चीनको नाग्छु नगरपालिकाले १५ जेठमा स्वास्थ्य सामग्री दिएको थियो।
टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनले दिएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिएको बताए। चीनको नाग्छु नगरपालिकाले टोखा नगरपालिकालार्ई मास्क ३० हजार थान, थर्मल गन ३०० थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तीन हजार थान, मेडिकल आइसोलेसन चश्मा तीन हजार थान, पञ्जा पाँच हजार थान, मेडिकल जुत्ता तीन हजार थान र स्यानेटाइजर सहयोग गरेको छ।
उक्त सामग्रीको मूल्य रु एक करोड ८६ लाख रकम बराबर रहेको छ। टोखा नगरपालिकाले कोरोना रोग फैलन नदिन चेकजाँचलाई समेत बढाएको छ। टोखाले आगामी आर्थिक वर्ष २०७७\०७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई शय्याको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्न समेत लागेको छ।
उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ। आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ।