भक्तपुरमा एक प्रहरी कोरोना संक्रमित भएपछि अन्य १२ प्रहरी क्वारेन्टिनमा
महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार कक्षमा कार्यरत एक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उक्त कक्ष सिलबन्दी गरी त्यहाँ कार्यरत १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।
महानगरीय प्रहरी परिसरको सञ्चार कक्षमा कार्यरत प्रहरी जवानमा कोरोनाभाइरस संक्रमण भएको हो । चाँगुनारायण नगरपालिका घर भएका ३२ वर्षीय प्रहरी जवानलाई संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत अन्य १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले बताएका छन्।
प्रधान भन्छन्, “सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ ।” क्वारेन्टिनमा राखेकाको आज स्वाब संकलन गरी पीसीआरका लागि पठाइने भएको छ।
संक्रमित प्रहरी जवानको परिवारका सदस्यको पनि स्वाब संकलन गरिने छ । ती प्रहरी जवानलाई खोकी लागेपछि गत ३१ जेठमा स्वाब संकलन गरी पीसीआर जाँचको लागि पठाइएको थियो । बुधबार रिपोर्ट आएपछि संक्रमण पुष्टि भएको हो।
त्यसैगरी भक्तपुरमा अन्य दुई जनालाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ। पीसीआर नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेका सबैको पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ।
त्यस्तै गत ३० जेठमा कुवेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि संक्रमण पुष्टि भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ । उनलाई थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।
संक्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ।