ईपीएलमा रंगभेद विरुद्धको आन्दोलनको समर्थन, पहिलो दिन आर्सनल म्यानचेस्टर सिटीसँग ३-० ले पराजित
कोभिड-१९ महामारीपछि मैदान फर्किएको इङ्लिश प्रिमियर लिग (ईपीएल) को पहिलो दिन बुधवारका दुवै खेलअघि खेलाडी र अफिसियलले घुँडा टकेर ‘अश्वेतको जीवनको महत्व छ’ आन्दोलनप्रति समर्थन जनाएका छन् ।
दुवै खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, रेफ्री र अफिसियलहरु मैदान प्रवेश गरेर घुँडा टेकेका थिए । त्यसपछि उनीहरुले कोरोनाभाइरस संक्रमण भएर मृत्यु हुनेका लागि मौनधारण पनि गरेका थिए । रंगशालामा खेल हेर्न दर्शकलाई अनुमति भने थिएन ।
हिजोको दोस्रो खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा खुम्चिएको आर्सनललाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको छ । म्यान सिटीका लागि रहिम स्टरलिङले ४५औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
४९औँ मिनेटमा आर्सनलका डेभिड लुइज रातो कार्ड पाएर मैदान छाडे । त्यसपछि म्यानसिटी हाबी भएको थियो । सिटीका तर्फबाट ५१औँ मिनेटमा केभिन डि ब्रुयन र ९०औँ मिनेटमा फिल फोडेनले गोल गरे ।
पहिलो खेलमा एस्टन मिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेले । ईपीएलको अंकतालिकामा २९ खेल खेलेको लिभरपुलको ८२ अंक छ । समान खेल खेलेको म्यान सिटी ६० अंकसहित दोस्रो स्थानमा छ । सेफिल्ड युनाइटेड छैठौँ र आर्सनल नवौँ स्थानमा छन् । एस्टोन भिल्ला भने रेलिगेसन जोनमा छ ।