अन्तर्राष्ट्रिय उडान नियमित भएको १५ दिनसम्म पर्यटकहरुलाई भिषा शुल्क निशुल्क गर्ने गृहको निर्णय
गृह मन्त्रालयले बन्दाबन्दीका कारण नेपालमा रोकिएका पर्यटकहरुले अन्तर्राष्ट्रिय उडान नियमित भएको १५ दिनभित्र आफ्नो देश जान चाहेमा त्यो अवधिको भिषा शुल्क, विलम्ब र जरिवाना निशुल्क गर्ने निर्णय गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटकहरुलाई सुविधा दिने निर्णय गरेका हुन् । अब बन्दाबन्दीका कारण यतै रोकिएका र भिषा सकिएका पर्यटकहरुले अध्यागमन विभागबाट निशुल्क भिषा नियमित गरेर स्वदेश फर्कन सक्नेछन्।
विभागका महानिर्देशक रमेशकुमार केसीले बुधबारको निर्णयसँगै यसअघि भएका निर्णयहरु स्वत: सच्चिएको बताए । विभागले १ असारमा कार्यालय खुलेपछि भिषा नियमित गर्न पुगेका करीब ३ सयबाट भिषा शुल्क लिएको थियो।
यसरी नेपालमा बन्दाबन्दीका कारण अलपत्र परेका पर्यटकहरुले आफ्नो देशको दूतावास, कूटनीतिक नियोग र महावाणिज्यदूतहरु मार्फत गुनासो गरेपछि नेपाल पर्यटन बोर्डको अनुरोधमा यस्तो निर्णय भएको हो।
बन्दाबन्दीले खर्च सकिएका पर्यटकहरुबाट गृह मन्त्रालयले पूर्व निर्णय उल्टाउँदै भिषा शुल्क लिएको थियो । यसको सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय संचारमाध्यममा आलोचना भएपछि मन्त्रालयले बुधबार अर्को निर्णय गरेको हो।
“हामीले कुन शुल्क लिने र नलिने विषयमा अलमलमा परेका थियौं,” महानिर्देशक केसीले भने, “यसले हामीलाई समेत अप्ठेरोमा पारेको थियो ।” उनले यसअघि भिषा शुल्क तिरिसकेकाको हकमा के गर्ने भन्ने विषयमा बेग्लै निर्णय हुने बताए।
नेपाल पर्यटन बोर्डले बन्दाबन्दी शुरु भएपछि नेपालमा रहेका पर्यटकहरुबाट भिषा सम्बन्धी कुनै शुल्क नलिन मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले समेत यसमा सहमति जनाएको थियो । तर कार्यालय खुलेको दुई दिनसम्म विभाग र कार्यालयहरुले पर्यटकहरुसँग भिषा शुल्क लिएका थिए । त्यसपछि २ असारको राति विभागले अर्को निर्णय गर्दै ७ असारसम्म स्वदेश जाने पर्यटहरुको भिषा शुल्क मिनाह गर्ने सूचना निकालेको थियो।
बोर्डका कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले गृह मन्त्रालय र अध्यागमन विभागले बोर्ड र अन्य सरोकारवाला निकायसँग समन्वय नगर्दा समस्या उत्पन्न भएको बताए। उनले नेपाल भ्रमण वर्षका लागि भन्दै निम्ताएका पर्यटकहरुमा एउटा अपरिपक्व निर्णयले गलत प्रभाव पारेको बताए।
“हामीले शुरुदेखि नै बन्दाबन्दीका कारण अलपत्रहरुसँग भिषा शुल्क नलिन अनुरोध गर्दै आएका हौं,” रेग्मीले भने, “मन्त्रालय र विभागभित्र पनि समन्वयको समस्या देखियो, यसले नेपालको छवि धुमिल बनाएको छ।” उनका अनुसार बोर्डले अन्तर्राष्ट्रिय उडान नियमित भएको कम्तीमा २० दिनसम्म भिषा शुल्क नलिन आग्रह गरेको जानकारी हिमालखबरलाई दिए।