ला लिगामा बार्सिलोनाले बढायो अग्रता
स्पेनिस ला लिगामा मंगलबार राति सकिएको खेलमा लेगानेस विरुद्ध सहज जित निकाल्दै बार्सिलोनाले अग्रता बढाएको छ। लेगानेस विरुद्ध दुई–शून्यको जित निकाल्दै बार्सिलोनाले रियल मड्रिड भन्दा पाँच अंकको अग्रता बनाएको हो।
घरेलु मैदान क्पाम्प नोउमा सकिएको खेलमा बार्सिलोनाका लागि अन्सु फाटी र लियोनेल मेसीले गोल गरेका थिए। बार्सिलोनाको घरेलु मैदानमा लेगानेसले शुरुमा आक्रामक खेलेको थियो। गोल गर्ने केही अवसर पनि बनायो। तर, गोल गर्न सकेन।
पहिलो हाफको ४१औं मिनेटमा बार्सिलोनाले अग्रता निकाल्यो। ला लिगामा सनसनी मच्याइरहेका युवा खेलाडी अन्सु फाटीले जुनियर फिर्पोको पासमा गोल गरे।
दोस्रो हाफको ६४औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए। तर, भिडियो एसिस्टेन्ट रेफ्रीले गोल दिएनन। तर, ६८औं मिनेटमा मेसीले पेनाल्टी गोल गरे।
मेसीको गोलसँगै दुई–शून्यको अग्रता निकाल्दै बार्सिलोनाले पाँच अंकको अग्रता बनाएको छ। रियल भन्दा एक खेल बढी खेलेको बार्सिलोनाले ६४ अंक बनाएको छ। रियलले २८ खेलबाट ५९ अंक बनाएको छ।