सफाइ पाएपछि पूर्व कप्तान थापाको प्रश्न– क्षतिपूर्ति कसले दिन्छ?
पाँच वर्ष पछाडि राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान सागर थापा सहित ६ फुटबलरले सफाइ भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र बमबहादुर श्रेष्ठको इजलासले खेल मिलेमतो गरेको आरोपबाट सफाइ पाएका हुन्।
पूर्व कप्तान थापा, खेलाडीहरु रितेश थापा, विकाससिंह क्षत्री, सन्दीप राई, पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथरोपिस्ट डेजिव थापालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा मिलेमतो गरेको आरोप लागेको थियो। मिलेमतो गरेको आरोपमा २०७२ असोजमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो।
सफाइ पछाडि पूर्व कप्तान थापाले सर्वोच्चले ढिलै भएपनि न्याय दिएको प्रतिक्रिया दिएका छन्। तर, यो निराधार आरोपबाट आफूहरुले पाएको सजायको क्षतिपूर्तिबारे उनले प्रश्न उठाएका छन्। “नगरेको अपराधबाट सफाइ त पायौं। तर, नगरेको अपराधको सजायको मूल्याङ्कन कसले गर्छ, सरकारले कि एन्फाले?”
२४ जेठ २०७५ मा विशेष अदालतले यी ६ जना फुटबरलाई सफाइ दिएको थियो। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफपी) ले यी खेलाडीहरुलाई खेलबाट आजीवन प्रतिबन्ध लगाएको छ।