कोरोनाभाइरसबाट भारतमा एकै दिन दुई हजारभन्दा बढीको मृत्यु
भारतमा कोरोनाभाइरसबाट मंगलबार एकै दिन अहिलेसम्मकै बढी दुई हजार चार जनाको मृत्यु भएको छ । मृतकको संख्या ११ हजार ९२१ जनाको मृत्यु भएको छ ।
भारतको कोरोनाभाइस संक्रमण सम्बन्धी जानकारी दिने वेभसाइट कोभिड१९ इन्डियाले एकै दिन मृत्यु हुनेको अहिलेसम्मकै ठूलो संख्या राखेको हो । त्यहाँ यसअघि एकै दिन ५०० को पनि मृत्यु भएको थिएन । सबैभन्दा बढी ११ जूनमा ३९४ जनाको मृत्यु भएको थियो।
भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा मात्र पाँच हजार ५३७ जनाको मृत्यु भएको छ । त्यहाँ जम्मा संक्रमित एक लाख १३ हजार ४४५ पुगेको छ।
दिल्लीमा एक हजार ८३७ जनाको मृत्यु भएको छ भने ४४ हजारभन्दा बढी संक्रमित छन् । त्यस्तै एक हजार ३४ जनाको मृत्यु भएको छ भने करीब २५ हजार संक्रमित छन् । तामिलनाडुमा ५२८ जनाको मृत्यु भएको छ भने ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
नेपालका छिमेकी प्रान्त पश्चिम बंगालमा ४९५ मृत्यु भएको छ भने करीब १२ हजार संक्रमित छन् । उत्तर प्रदेशमा ४३५ जनाको मृत्यु भएको छ । त्यहाँ करीब १५ हजार संक्रमित भेटिएका छन्।
विहारमा ३९ जनाको मृत्यु भएको छ र ६ हजार ८१० जना संक्रमित छन् । उत्तराखण्डमा २५ जनाको मृत्यु र एक हजार ९४२ जना संक्रमित छन् । सिक्किममा कसैको मृत्यु भएको छैन । त्यहाँ ७२ संक्रमित फेला परेका छन्।