सरकारी अध्ययनकै निष्कर्ष– कोरोना क्लिनिक र अस्पतालको पूर्वतयारी कमजोर
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ को परीक्षण गर्ने क्लिनिक र संक्रमितको उपचार गर्न तोकिएका अस्पतालहरूमा गएको १४ वैशाखदेखि एक महीनासम्म गरेको अध्ययनले पूर्वतयारी दयनीय रहेको देखाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नयाँ अध्ययनले मुलुकमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारीको अवस्था कमजोर देखाएकोे छ। परिषद्ले ३२ जेठमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार, कोभिड–१९ संक्रमितको उपचार गर्ने भनेर तोकिएका अस्पताल र कोरोना क्लिनिकहरूमा आधारभूत सुविधाकै अभाव छ।
सरकारले कोभिड–१९ परीक्षण गर्न ९३ वटा क्लिनिक तोकेको छ भने संक्रमितको उपचार गर्न ३० वटा अस्पतालको व्यवस्था गरेको छ। परिषद्ले १४ वैशाखदेखि १४ जेठसम्मको एक महीनामा यी क्लिनिक र अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसारको परीक्षण र उपचार गर्ने व्यवस्था छ कि छैन भनेर अध्ययन गरेको थियो।
अध्ययनमा संलग्न परिषद्का सदस्य डा. मेघनाथ धिमाल कोरोना क्लिनिक र अस्पतालहरूबाट तथ्यांक संकलन गरी त्यहाँबाट दिइने सेवा, पूर्वाधार र जनशक्तिको अवस्थाबारे अध्ययन गरेको बताउँछन्। प्रतिवेदनले कुनै पनि कोभिड–१९ क्लिनिकमा रुटिन अनुसारको र विशेष रगत जाँच्ने, कल्चर गर्ने र अन्य सरुवा रोग परीक्षण गर्ने व्यवस्था नभएको देखाएको छ।
९३ वटा कोरोना क्लिनिकमध्ये ५५ प्रतिशतमा स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले तोके अनुसारको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) नभएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, कुनै पनि क्लिनिकमा सिटी स्क्यान सेवा नभएको, ३.२ प्रतिशत क्लिनिकमा मात्र पोर्टेबल एक्स–रे र अल्ट्रासोनोग्राफी सेवा उपलब्ध रहेको प्रतिवेदनले देखाएको छ।
परिषद्को अध्ययनबाट १९.४ प्रतिशत कोरोना क्लिनिकमा मात्रै सेन्ट्रल पाइपलाइन अक्सिजन सप्लाई सेवा भएको देखिएको छ। कोरोना संक्रमितहरुका लागि ९३ मध्ये ४० वटा क्लिनिकले मात्र एम्बुलेन्सको व्यवस्था गरेको पाइएको थियो।
अधिकांश कोरोना क्लिनिकमा हाइड्रोक्सीक्लोरिन, अजिथ्रोमाइसिन जस्ता औषधिहरु उपलब्ध भए पनि कोभिड–१९ मा प्रभावकारी मानिएको रेमडिसिभिर, तोसिलीजुमाब जस्ता औषधी भने कतै नरहेको अध्ययनले देखाएको छ।
कोरोना क्लिनिक सञ्चालन गरेका अस्पतालमध्ये ४६ प्रतिशतमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि कोरोनाभाइरस परीक्षण गर्ने व्यवस्था नभएको र ५० प्रतिशत अस्पतालमा कर्मचारीहरुका लागि क्वारेन्टिनको सुविधा नै नभएको देखाएको छ।
पछिल्लो समय अस्पतालहरुमा कोरोनाभाइरसका बिरामी देखिए लगत्तै अस्पताल नै सिल गर्ने क्रम बढेको छ। यसले अस्पतालहरुको तयारी कस्तो छ भनेर देखाउँछ। ९३ प्रतिशत कोरोना क्लिनिकहरुमा संक्रमित व्यक्तिको मृत्यु भइहाले राख्ने ‘ब्याग’ को व्यवस्था नभएको अध्ययनले देखाएको छ।
परिषद्कोे अध्ययन अनुसार ५८ वटा क्लिनिक (६२.४ प्रतिशत) मा कोरोना संक्रमितको उपचारका लागि चाहिने सघन उपचार कक्षको व्यवस्था छैन। यस्तै, कोरोना क्लिनिक सञ्चालन गरेका ९६.८ प्रतिशत अस्पतालमा कोरोनाभाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेशिनसहितको प्रयोगशाला नभएको पनि अध्ययनले देखाएको छ। ६५.६ प्रतिशत क्लिनिकमा भने एन्टीबडी जाँच्ने ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) सेवा उपलब्ध छ।
क्लिनिक सञ्चालन गरेका ८३.९ प्रतिशत अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएपछि त्यस्ता बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्था नै छैन।
अध्ययनले ८३ प्रतिशत कोरोना क्लिनिकमा संक्रमितको उपचार वा संक्रमित व्यक्तिको मृत्युपछि अस्पताललाई निर्मलीकरण गर्ने सुविधा नभएको देखाएको छ। यसले अस्पतालमा संक्रमण रोकथामको अवस्था दयनीय रहेको देखाएको छ।
दयनीय कोरोना अस्पताल
परिषद्को अध्ययनले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने ३० अस्पतालको पूर्वतयारी र त्यहाँबाट प्रवाह भइरहेको सेवा प्रभावकारी नभएको देखाएको छ। अध्ययन अनुसार ३० मध्ये ७७ प्रतिशत अस्पतालले संक्रमितलाई लक्षित गरेर आपत्कालीन उपचार सेवा उपलब्ध गराउन सकेका छैनन्।
३४ प्रतिशत अस्पतालमा कोरोना संक्रमणका जटिल बिरामीका लागि सघन उपचार कक्षको व्यवस्था नभएको, ४४ प्रतिशत अस्पतालमा आईसीयू भेन्टिलेटर नभएको, ६७ प्रतिशत अस्पतालमा रियल टाइम पीसीआर ल्याब नभएको र ३७ प्रतिशत अस्पतालमा पीसीआर मार्फत कोरोना परीक्षण गर्ने जनशक्ति नभएको अध्ययनले देखाएको छ।
अध्ययन प्रतिवेदनमा ६० प्रतिशत अस्पतालहरुमा स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले तोके अनुसारको पीपीई सेट नभएको, २४ प्रतिशत अस्पतालमा कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा उपलब्ध हुन नसकेको, ६४ प्रतिशत अस्पतालमा सिटी स्क्यान सेवा नभएको र ९० प्रतिशत अस्पतालमा निर्मलीकरण गर्ने व्यवस्था नभएको उल्लेख छ।
परिषद्का सस्दय डा. धिमाल यो अध्ययनले सरकारलाई कोरोनाभाइरसको परीक्षण र उपचार गर्ने क्लिनिक र अस्पतालहरूमा देखिएको अभाव परिपूर्ति गर्न सघाउने बताउँछन्।