७ असार (आइतबार) खण्डग्रास सूर्यग्रहण लाग्ने
७ असार आइतबार खण्डग्रास (पूरै सूर्य नढाकिने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहण बिहान १०ः५० बजे स्पर्श गर्ने, मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष अर्थात सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए।
खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राजधानी सहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समय समेत सार्वजनिक गरेको छ।
काठमाडौंबाट बिहान १०ः५३ः५८ मा शुरु, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
प्रदेश नं. १ को विराटनगरबाट बिहान १०ः५८ः४५ शुरु, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ । यसैगरी प्रदेश नं. २ को जनकपुरबाट बिहान १०ः५५ः०१ शुरु, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ।
वाग्मती प्रदेशको हेटौँडाबाट बिहान १०ः५२ः५२ मा शुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०ः५०ः४५ मा शुरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुने छ।
प्रदेश नं. ५ को बुटवलबाट बिहान १०ः४८ः५० मा शुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा शुरु, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुने छ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०ः४२ः४६ मा शुरु, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताए। सुरक्षित तरीकाले ग्रहण हेर्न सकिने पनि सोसाइटीले जनाएको छ।
अब खग्रास (पूरै सूर्य ढाकिने) सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं. १ काे दक्षिणपूर्वी भूभागबाट देखिने उनले बताए।