सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट (पूर्णपाठ)
उन्नती चौधरी, कैलाली
सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्।
जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।
प्रदेश सरकारले स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको छ । सरकारले स्वास्थ्य क्षेत्रको सुदृढीकरण एवम् सेवा सुधारका लागि तीन अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको छ।
यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिंचाइ योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड, विनियोजन गरिएको अर्थमन्त्री बोहराले बताए।
कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवम् सेवा विस्तारमा सेती प्रादेशिक अस्पताल, ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग उपचार केन्द्रका लागि तीन करोड बजेट छुट्याइएको छ।
सांसदहरुको पूर्वाधार विकास कार्यक्रमको बजेट यथावत राखिएको छ । ३२ निर्वाचन क्षेत्रका लागि तीन करोडका दरले ९६ करोड विनियोजन गरिएको छ। यस्तै प्रदेशमा अपराध न्यूनीकरण गर्न, कारागारको सुधार तथा व्यवस्थापन, प्रहरी कार्यालय तथा चौकीहरूको सुधार एवं विस्तारका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ।
यस्तै सुदूरपश्चिमको पहाडी जिल्लामा सञ्चालन हुने कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताइएको छ । साथै छाउपडी प्रथा, जातीय छुवाछुत, बालविबाह, महिला हिंसा लगायतका सामाजिक कुरीतिहरू विरुद्धको अभियानको लागि पनि बजेट विनियोजन गरिएको छ।
प्रदेशमा आम सञ्चार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाई सुशासन स्थायित्व र विकासमा सञ्चार जगतको योगदान प्रवर्धन गर्न आगामी वर्ष प्रदेश सञ्चार नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने बताइएको छ।
साथै प्रदेशभित्र सूचना तथा सञ्चारको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि नेपाल सरकार र सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न निकायहरुसँग समन्वय गरी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न बजेट विनियोजन गरेको छ । गत वर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो।