सातै प्रदेश सरकारको बजेट आज
सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट घोषणा गर्दैछ। संघीय बजेट १५ जेठमा र प्रदेश सरकारको बजेट १ असारमा ल्याउनुपर्ने वैधानिक प्रावधान छ।
सोही प्रावधानअनुसार, सातै प्रदेशको बजेट भाषण आज भइरहेको छ। मुलुक संघीयतामा गएपछि आएको बजेट यस पटक महामारीको असर न्यूनीकरणमा केन्द्रित गरिदैछ।
फरक–फरक मितिमा आएको नीति तथा कार्यक्रम मार्फत् सातै प्रदेश सरकारले महामारीका कारण पुगेको असर न्यूनीकरण गर्न स्वास्थ्य, कृषि, रोजगारीमा बजेट केन्द्रित हुने जनाएका छन्।
संघीय सरकारले जस्तै प्रदेश सरकारहरुले पनि पुराना कार्यक्रमहरुलाई पनि निरन्तरता दिने भएका छन्। भौतिक पूर्वाधार निर्माण, सडक र खानेपानी जस्ता क्षेत्रलाई पनि बजेटले सम्बोधन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
संघीय सरकारले चालु आर्थिक वर्ष भन्दा घटाएर बजेट ल्याएको छ। त्यसैले प्रदेश सरकारहरुले पनि आगामी आर्थिक वर्षको बजेट घटाउँदैछ।