पाइलटको उड्डयन संग्रहालय
विमान चालक, लेखक, फोटोग्राफर र त्योभन्दा बढी एक स्वप्नदर्शी वेद उप्रेती काठमाडौंमा उड्डयन संग्रहालय बनाउने महत्वाकांक्षी परियोजनामा जुटेका छन्।
२० फागुन २०७१ बिहान, काठमाडौंको आकाश हुस्सुले ढाकेको थियो। इस्तानबुलबाट १९ फागुन साँझ् उडेको टर्किस एअरलाइन्सको ए–३३०–३०० एअरबसलाई यही हुस्सु छिचोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु थियो।
तर, दोस्रोपटकको प्रयासपछि बिहान ७ बजेर ४३ मिनेटमा जमीन छोएको विमान धावनमार्ग हुँदै घाँसे मैदानमा धसिन पुग्यो। धन्न, कुनै मानवीय क्षति भएन। ठूलो दुर्घटना टर्यो।
दुर्घटना टरे पनि विमानमा ठूलै क्षति भयो। बीमाबापतको रकम पाएसँगै विमानका काम लाग्ने उपकरण फिर्ता लगेको एअरलाइन्सले 'डिजेबल वाइड बडी' कवाडमा बिक्री गर्यो। धेरैलाई आश्चर्य लाग्ला, त्यही कवाडमा खरीद गरिएको 'वाइड बडी' नयाँ पर्यटकीय गन्तव्य बन्दैछ।
“त्यही वाइड बडीबाट 'एभिएसन म्युजियम' बनाउँदैछु”, वेद उप्रेती भन्छन्। उड्डयन संग्रहालयका लागि उनी स्वयंको वेद उप्रेती ट्रष्टले ६ कात्तिकमा टर्किस एअरलाइन्ससँग उक्त विमानको बडी खरीद गरिसकेको छ।
विमानस्थलकै आसपासमै निर्माण गरिने संग्रहालय अबको ८ महीनाभित्र तयार हुने उप्रेती बताउँछन्। “करीब पाँच करोड रुपैयाँजति खर्च हुने अनुमान छ”, उनी भन्छन्।
इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेसन (आईसीएओ) का अनुसार, सन् २०३५ मा विश्वभर ६ लाख १७ हजार विमान चालक (पाइलट) को आवश्यकता पर्नेछ।
जबकि अहिलेसम्म एक लाख ३० हजार पाइलट मात्र कार्यरत छन्। संसारभर नै पाइलट अभाव भइरहेका बेला नेपाली युवालाई पनि उड्डयन क्षेत्रतिर आकर्षित गर्ने उद्देश्यले 'एभिएसन म्युजियम' बनाउन लागिएको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उप्रेती बताउँछन्। 'क्रू रिसर्च म्यानेजमेन्ट (सीआरएम)' तालीम र उडानसम्बन्धी जानकारी पनि संग्रहालयबाटै पाइने व्यवस्था मिलाइनेछ।
आठ महीना मात्रै उडेको ४४० यात्रु क्षमताको टर्किस एअरलाइन्सको विमानको बडी ६३.६९ मिटर लामो, पखेटासहित ६०.३० मिटर चौडाइ र १६.८३ मिटर अग्लो रहेको छ।
विमानले ४५.९ टनसम्मको भार थेग्न सक्छ। यसको यही फराकिलो क्षेत्रभित्र शुरूआतदेखि अहिलेसम्मका सबै जहाजका नमूना राखिने उप्रेतीको योजना छ। “संसारमा यति नयाँ जहाजमा संग्रहालय अन्त कतै बनेको छैन”, इन्डोनेसियाको लायन एअरमा एटीआर ७२–६०० सिरिजका जहाज उडाउँदै आएका प्रशिक्षक पाइलट क्याप्टेन उप्रेती भन्छन्।
यो उड्डयन संग्रहालयको अर्को विशेषता एरियल फोटोग्राफी पनि हुनेछ। उप्रेतीले तीन दशकको उडान यात्राका क्रममा दश हजार भन्दा बढी घण्टा आकाशमा बिताउँदा खिचेका संसारभरका फोटोहरूले संग्रहालयको शोभा बढाउनेछ।
हसनपुर आकर्षण
बन्न लागेको उड्डयन संग्रहालय नेपालका लागि नयाँ भने होइन। २ असोज २०७१ मै कैलाली, धनगढीस्थित हसनपुरमा पहिलो संग्रहालय बनिसकेको छ। र, बनाउने व्यक्ति पनि उही हुन्, वेद उप्रेती। रु.१ करोड २५ लाखमा निर्माण गरिएको यो संग्रहालय अहिले धनगढीको प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। कस्मिक एअरको ११० सीट क्षमताको पुरानो जहाजमा निर्माण गरिएको यो संग्रहालयभित्र नयाँ र पुराना गरेर दुई सय प्रकारका विमानका नमूना राखिएका छन्।
काठमाडौंबाट तीन टुक्रा पारेर धनगढी पुर्याइएको जहाजबाट निर्माण गरिएको संग्रहालयमा भारतको उत्तरप्रदेश र उत्तराञ्चलबाट समेत पर्यटक आउने गरेका छन्। “राम्रो रेस्पोन्स पाइरहेको छु”, उप्रेती भन्छन्। संग्रहालयमा उप्रेतीको फोटो ग्यालरी पनि राखिएको छ।
संग्रहालय अवलोकन गर्न विद्यार्थीलाई रु.५० र अन्यलाई रु.१०० शुल्क तोकिएको छ। शुल्कबाट संकलित रकम कैलालीका क्यान्सरपीडितको उपचार र विद्यार्थीको छात्रवृत्तिमा खर्च भइरहेको उप्रेती बताउँछन्।
सिद्धबाबाको प्रतिमा
घुमफिरमा रुचि राख्ने उप्रेती काठमाडौंसँगै महेन्द्रनगरलाई पर्यटकीय गन्तव्य बनाउन 'स्ट्याचू अफ सिद्धनाथ बाबा (शिव)' निर्माणमा लागेका छन्। रु.१ करोड ५० लाखमा निर्माण सम्पन्न हुने यो प्रतिमा डेनमार्कको कोपनहेगनमा रहेको 'स्ट्याचू अफ लिटिल मरमेड' जस्तै हुने उप्रेतीले बताए।
महेन्द्रनगरको भाँसीमा राखिने यो प्रतिमा निर्माणमा अहिले ललितपुरका कलाकारहरू सक्रिय छन्। करीब पाँच फिट अग्लो पित्तलको सिद्धनाथको प्रतिमा ६ फिट अग्लो ढुङ्गामाथि राखिनेछ। सिद्धबाबाको जटाबाट निस्किने ४ इन्चको पानीको फोहोरालाई स्वीमिङ्ग पुलमा खसाल्ने व्यवस्था गरिनेछ। “प्रतिमा नेपाल र भारतका पर्यटकका लागि मुख्य गन्तव्य बन्ने विश्वास लिएको छु”, उप्रेती भन्छन्।
भारतको पूर्णागिरि मन्दिरमा फागुन महीनाको होली पूर्णिमाको अघिल्लो दिनदेखि एक महीना लामो मेला लाग्ने गरेको छ। भारतको उत्तराखण्डमा रहेको पूर्णागिरिको दर्शन गरेका भक्तजनले नेपालको महेन्द्रनगरस्थित सिद्धनाथको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूरा हुने विश्वास छ।
तिनै पर्यटकहरूलाई 'स्ट्याचू अफ सिद्धनाथ बाबा' सम्म पुर्याउन सकिने उनको विश्वास छ। थप, निर्माणाधीन स्वीमिङ्ग पुलले पनि आन्तरिक तथा बाह्य पर्यटनलाई मद्दत नै गर्नेछ। प्रतिमा छेउमै राखिने हेलिकप्टरबाटै रेस्टुरेन्ट पनि सञ्चालन गरिने उप्रेतीको योजना छ।
आकाशबाट सुदूरपश्चिम
उप्रेतीको पुस्तक फारवेस्ट नेपालः इमेजिङ्ग अ रिमोट वन्डरल्यान्ड यही फागुनमा बजारमा आउँदैछ। यो उनको १३औं पुस्तक हो।
आकाशबाट खिचिएका सुदूरपश्चिमका तस्वीरहरू पुस्तकमा देख्न पाइनेछ। सुदूरपश्चिमका रोजगारी, पर्यटन, आर्थिक तथा सामाजिक विकासका कुरा पनि तस्वीरसँगै पढ्न पाइनेछ।
पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित हुनेछ। “फोटोसँगै सम्भावनाका कुरा पनि लेखेको छु” उप्रेती भन्छन्।
यसअघि उनका एभरेस्ट फ्रम द एअर, नेपाल फ्रम द स्काई, अन्नपूर्ण सर्किट फ्रम द वाइल्ड आईभ्यू, ३६० एभरेस्ट फ्रम वाइल्ड आईभ्यू लगायतका पुस्तक मनपराइएका छन्।